जनता टाइम्स

२० जेष्ठ २०७७, मंगलवार २२:०८

स्थलमार्ग हुँदै नेपाल आइपुगिन मनिषा कोइराला


काठमाडौं, जेठ २० । बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुँदै स्वदेश आइपुग्नुभएको छ । कालापानी, लिपुलेक र लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि नेपालको समर्थनमा दृढतापुवर्क दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले विवादमा तानेकै बेला कोइराला स्वदेश आइपुग्नु भएको हो ।

अभिनेत्री कोइराला बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्कुनभएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो । कोइराला आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आउनु भएको हो । अभिनेत्री मनिषाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै रिट्वीट गर्नुभएको थियो ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईँलाई धन्यवाद । अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएकको हेर्न हामी सबै इच्छुक छौँ ।’

मनिषाले नेपाल सरकारले हालै परिस्कृत नक्सा जारी गरेकोमा खुसी व्यक्त गर्दै यस्तो प्रस्ताव गर्नुभएको हो । नेपाल सरकारले नयाँ नक्सा पास गरेको भोलिपल्टै मनिषाले यस्तो प्रतिक्रिया जनाउनु भएको थियो । उहाँको सोही भनाईप्रछि भारतीय मिडिया खनिएका थिए । सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो। भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ।

सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुप सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसद्‍मा दर्ता गरेको थियो। संविधान संशोधन प्रस्ताव संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका निम्ति मात्र संसदमा दर्ता भएको हो। संबिधान संशोधन बिद्येयक जेठ १८ गते संघीय संसदको प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री शिवमाया तुम्बाहाङफेले पेश गरिसक्नु भएको छ ।