जनता टाइम्स

२१ जेष्ठ २०७७, बुधबार १२:४८

सडकको इन्ट्री पोस्ट किन नहटाएको भन्दै वडाध्यक्षले गरे प्रहरी पोष्टमाथी आक्रमण


रुकुम पश्चिम, जेठ २१

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका एक वडाध्यक्षले मदिराको सुरमा प्रहरी पोष्टमाथी आक्रमण गरेर फरार भएका छन् । वडा नम्बर १३ का वडाअध्यक्ष दिपक केसी लगायतको २०\२५ जनाको समूहले मंगलबार बेलुका ९ बजेतिर वडा नम्बर १४ को छिवाङ्ग ज्युलामा रहेको अस्थायी प्रहरी पोष्टमा आक्रमण गरेका हुन् ।

जानकारी अनुसार अत्याधिक जाँडरक्सी खाएर आएका अध्यक्ष केसीको टोलीले प्रहरीको इन्ट्रिपोस्ट, प्रहरी र प्रहरी भाडामा बसेको घर माथी ढुङ्गामुढाले आक्रमण गरेका हुन् । पोष्टमा एक्कासी आक्रमण गरेका उनीहरुले प्रहरी इन्चार्जको पेस्तोल खोसेर पछि फेरि फिर्ता गरेर भागेको प्रहरीले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा ६ जना प्रहरी रहेको उक्त पोष्टमा आक्रमण हुँदा केही प्रहरी काम विशेषले बाहिर रहेको बताइएको छ । उनीहरुले प्रहरी इन्ट्री पोस्ट भत्काउनुका साथै इन्चार्जको बर्दिसमेत च्यातेका छन् भने अन्य दुई जना प्रहरी जवानलाई समेत कुटपिट गरेका छन् । प्रहरीले सवारी चेक गर्नका लागि सकडमा राखेको इन्ट्री पोस्ट नहटाएको निहुमा झगडा शुरु भएको स्थानीयले बताएका छन् । वडाध्यक्षले आफु आउँदा पनि इन्ट्री पोस्ट किन नहटाएको भन्दै झडप शुरु भएको थियो ।