जनता टाइम्स

२३ जेष्ठ २०७७, शुक्रबार १२:१८

संसदले रुकुम घटना छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने


काठमाडौं, जेठ २३

संसदले रुकुममा भएको घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठन गर्ने जानकारी दिनुभएको हो ।

बैठकमा कांग्रेसमा सांसदले समिति गठनको माग गर्दै उठेर विरोध गरेपछि सभामुखले छानबिन गर्न समिति गठन गर्न लागेको बताउनु भयो । ‘रुकुम पश्चिम जिल्लाको चौरजहारी नागरपालिका–८ स्थित सोतिमा २०७७ साल जेठ १० गते घटेको घटनाका सम्बन्धमा अघिल्ला बैठकहरुमा पनि कुरा उठेको र आजको बैठकमा पनि माननिय श्री पुष्पा भुसाल गौतमले कुरा उठाउनु भएको छ । यसैले यी विषयहरु सम्बोधन गर्न उक्त घटनाको आवश्यक अनुसन्धान र अनुगमन गरी सभामा प्रतिवेदन पेश गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग आवश्यक छलफल गरी प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७७ बमोजिम संसदीय विशेष समिति गठन गरिने व्यहोरा माननिय सदस्यहरुलाई जानकारी गराउदछु’, सभामुखले भन्नुभयो ।

यसैबीच, जाजरकोटका ६ जना युवकको ज्यान जानेगरी १० जेठमा भएको घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली रुकुम पुगेको छ। सीआईबीका प्रमुख डीआईजी सहकुल थापाका अनुसार टोलीले प्राविधिक अनुसन्धानमा सघाउनेछ।