जनता टाइम्स

२४ जेष्ठ २०७७, शनिबार १२:१६

भारतीय सीमा सुरक्षामा खटिन्छन् ठोरीवासी


सुरेन कुँवर, रत्ननगर, जेठ २४

गत जेठ १५ गते ठोरी गाँउपालिको ठुटेखेला पुलसँगैको बाटो भारतीय सीमा सुरक्षा बलसहित नेपाल छिरेर केही भारतीयले बाटो भत्काइदिए । नेपाली भूमिमा प्रवेश गरी बाटो भत्काइरहेका भारतीयलाई स्थानीयवासीले प्रतिकारे गरे । वर्षौँदेखि भारतीयबाट सीमा क्षेत्रमा यस्तो गतिविधि हुँदै आए पनि सरोकारवाला निकायको ध्यान नपुगेको स्थानीयवासी बताउँछन् । घटनापछि स्थानीयवासीले जिल्ला सुरक्षा समितिलाई यसबारे जानकारी गराएपनि कतैबाट सुनुवाइ नभएको उनीहरुको गुनासो छ ।

विसं २०२२ मा राजा महेन्द्रले सीमा सुरक्षा गर्न चितवनका केही स्थानीयवासीलाई ठोरीमा बसाइँ सारेको ठोरीवासी प्रकाश खनाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘यस बीचमा भारतीयले पटकपटक रातको समयमा ठोरीमा रहेका नेपाल–भारत स्तम्भ पटक–पटक सार्ने काम हुने गरेको छ । कहिले सीमास्तम्भ सारेर, किनमेलका लागि भारत गएका नेपालीलाई दुःख दिने दशजगा नजिकै बसेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) को दैनिकी नै बनेको छ ।’’ भारतीय पक्षको त्यस कार्यको विरुद्ध ठोरीवासीले प्रतिकार गर्ने गरेपनि उनीहरुको ध्यान दशगजा क्षेत्रमा रातारात कसरी ‘क्याम्प’ निर्माण गर्ने भन्ने रहेको खनालको भनाइ छ । यहाँ अन्यत्रजस्तो सीमा विवाद नभएपनि भारतीय पक्षले यस क्षेत्रलाई विवादित भन्दै नेपाली भूमिमा बारम्बार हस्तक्षेप गर्न खोजेको उहाँ बताउनुहुन्छ ।

भारतीयले यहाँको ठुटेखोला थुनेर कुलोबाट पानी लाने गरेका छन् । हिउँदको समयमा भने खोला सुक्खाजस्तै हुने गर्दछ । पुलसँगै जोडिएको कुलो पुरिएपछि अर्को कुलोलाई दोब्बर ठूलो बनाएर पानी नेपालबाट दिने सहमति पनि भएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संरक्षणमा भारतीय नागरिकले नेपाली भूमि प्रवेश गरेर सडक भत्काएपछि विवाद शुरु भएको थियो ।

पर्सा र चितवन जिल्लाको सीमामा पर्ने ठोरी विकासको हिसाबले पछि परेको छ । दुवै जिल्लाको सदारमुकामबाट करिब ६५ किमीको दूरीमा पर्ने यो ठाउँ भौगोलिकरूपमा दुवै जिल्लाका सदारमुकामबाट तीनदेखि चार घण्टासम्म यहाँ पुग्न सकिन्छ । “ठोरीलाई भारतीयहरु अर्को लिम्पियाधुरा, कालापानी र लिपुलेक बनाउन खोजिरहेका छन्, ठोरीवासी सुदीप थापाले भन्नुभयो, “नेपाली भूमिमा हातहतियारसहित एसएसबी प्रवेश गर्छन् । ठोरीमा भएका विकासमा बाधा पु¥याउने काम भइरहेको छ ।”

भारतीयले भत्काइदिएको बाटो हुँदै अहिले हुलाकी सडकको काम पनि भइरहेको छ । ठोरीको वडा नं २ र ३ जोड्ने बाटो जोड्न नसक्दा गत वर्ष दुई जनाले ज्यान गुमाएका थिए । ठुटेखोलामा पानीको बहाव उच्च रहेकाले एम्बुलेन्स जान नसकेपछि एक गर्भवती र सर्पदंशका बिरामीको ज्यान गएको थापा बताउनुहुन्छ ।

ठोरी भारतको पश्चिम चम्पारणसँग जोडिएको छ । नाकाबन्दीका बेला पेट्रोल, डिजेललगायतको इन्धन नेपालमा आपूर्ति गरेर चिनिएको थियो । यहाँ अहिले पनि छोटी भन्सार सञ्चालनमा छ । विभिन्न दृष्टिकोणले महत्वपूर्ण ठोरीमा सशस्त्र प्रहरी बलको सङ्ख्यामा वृद्धि गर्नुपर्ने स्थानीयवासीको भनाइ छ । नेपालमा सुरक्षाकर्मीको चहलपहल बढाउन सके भारतीयहरुले हस्तक्षेप गर्न छाड्ने ठोरीवासी नारायण सिलवाल बताउनुहुन्छ । “हामी दर्जनौँपटक प्रतिकार गर्न पुगेका छौँ”, सिलवालले भन्नुभयो, “हाम्रो जमिनमा आएर गरेको दादागिरी सहदैनाँै । हाम्रो भूमि प्राणभन्दा प्यारो लाग्छ । हामीले प्रशासनबाट सहयोग पाउन सकेका छैनौँ ।”

ठोरीको वडा नं ३ का केही स्थानमा नेपाल–भारत सीमाक्षेत्रमा काँडेतार लगाइएको छ । वडाध्यक्ष सूर्य लामाले अन्य विकासे बजेटलाई कटौती गरी काँडेतार लगाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘दुई हप्ताअघि ठोरीको विजयवस्तीको सीमाक्षेत्रमा पर्ने दशगजामा रातारात निर्माण गर्न लागिएको एसएसबीको पोष्ट स्थानीयवासीको विरोधपछि रोकिएको छ ।’’ ठोरीवासीले भोग्नुपरेको सीमा समस्याका बारेमा जिल्ला र केन्द्रबाट पनि सुनुवाइ नहुँदा समस्या भएको उहाँको भनाइ छ ।