जनता टाइम्स

२६ जेष्ठ २०७७, सोमबार ११:४३

अमेरिका निवासी कार्की र पन्तले तिरिदए मृतक यादबको ऋण, लिए छोराछोरीको पठनपाठनको जिम्मा


धनुषा, जेड २६ । अमेरिकाको टेक्सास र फिलाडेल्फिया राज्यमा आआफ्नै ब्यबसाय चलाएर सामाजिक कार्य गर्दै आउनु भएका समाजसेवी भीम कार्की र शंकर पन्तले सहिद नगरपालिका ४ धनुषाका बिरेन्द्र यादबकी पत्नी सबितादेवी यादबलाई तीन लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।

पन्त र कार्कीका काठमाडौमा रहेका बिश्वासिला साथी दामोदर सुबेदीले मृतककी श्रीमती सबितादेबी यादवको खाता नम्बर मागेर पैसा बैंकमा जम्मा गरी भौचर हस्तान्तरण गर्नु भएको छ । भौचर बुझाउने क्रममा सुबेदीले अमेरिका निवासी कार्की र पन्तले निज यादबका २ जना बच्चाहरुको आगामी दिनको पठनपाठनको समेत जिम्मा लिएको बताउनु भयो । ‘यिनिहरुको खर्च बार्षिक नियमित यही खातामा जम्मा हुन्छ । स्कुलको ट्युसन फिस, ड्रेस, कापी ,कलम, मसि र दैनिक खाजामा हुने खर्च बैंकबाट झिकेर खर्च गर्दै गर्दा हुन्छ,’ सुबेदीले भन्नुभयो । कार्की र पन्तको तर्फबाट सुवेदीले यस्तो जानकारी गराउँदा उपस्थित सवैका आँखा रसाएका थिए ।

गत फागुनमा कमाउन भारतको हरियाणा पुग्नुभएका बीरेन्द्र यादवले त्यहाको एक रबर कारखानामा काम गर्नुभयो । करिब १ महिना काम गरेपछि कोरोनाको कारण कारखाना बन्द भएको र बस्न खान नपाएपछि नेपाल फर्कनुभयो । करिब एक महिनासम्मको लामो पैदल यात्रा र भोकभोकै हिडेर नेपाल भारत सिमाना कै जदही नाकामा आइपुग्दा गत जेष्ठ १४ गते बेलुका यादवको मृत्यु भयो । सउदी अरब र युएईमा डेढ बर्षभित्र २ पटक पुग्नुभएका यादव दुबै पटक कम्पनी बन्द भएर घर फर्कनुभएको थियो । बिदेश जाँदा लिएको ऋण बढेर ३ लाख भन्दा बढी भएको र साहुहरु जाग्न थालेपछि केही कमाउन उहाँ भारत पसेको पिता बाबू राम जतन यादबले बताउनु भयो ।

कमाउने छोराको मिर्त्यु भए पछि ऋण दिएका साहुहरुले कृयाक्रम स्थल मै आएर ऋण तिर्न दबाब दिएको समाचार केही दिन अघि केही मिडियामा प्रसारित भएको थियो । त्यही समाचार देखेका अमेरिकाको टेक्सासमा बिगत लामो समयदेखि ब्यबसाय गर्दै आउनु भएका बाग्लुङ्ग घर भएका भीम कार्की र फिलाडेल्फियामा आफ्नै ब्यबसाय चलाउदै आउनु भएका रुपन्देहीको सैनामैनामा घर भएका शंकर पन्तले संयुक्त रुपमा तीन लाख रुपैया सहयोग पठाईदिने सोच बनाउनु भयो । हामीले यो समाचार सुने पछि मन नराम्रो सङ्ग पोल्यो । कृयाक्रम पनि नसक्दै ऋण असुल गर्न आउने साहुहरुप्रती घृणा जाग्यो । कमाउनको लागि खाडी पुगेको र त्यहा पनि सम्भव नभए पछि भारत गएको अनि कोरोनाले कम्पनी बन्द भएर आफ्नो देश फर्किदा बाटोमा मर्नु पर्ने र त्यही बेला साहु जाग्नु कति पीडादायी क्षण होला भन्ने लागेर ऋण तिरी दिने बिचार आएको हो, पन्तले भन्नुभयो ।

अमेरिकाको टेक्सास राज्यस्थित ड्यालास सिटिमा बस्दै आउनुभएका ब्यबसायी भिम कार्की निकै ठूलो दयालु मन भएका सामाजिक अभियन्ताका रुपमा परिचित हुनुहुन्छ । उहाँले टेक्सासमा बनाइएको एनएस्टि (नेपाली सामुदायिक भवन) लाई करिब ५० लाख नेपाली रुपैया सहयोग गर्नुभएको थियो । यस्तै फिलाडेल्फिया निवासी पन्त पन्त पनि समाजिक कार्यमा निकै अगाडि आउने नाम हो।