जनता टाइम्स

२६ जेष्ठ २०७७, सोमबार १८:४२

अस्पतालमा सरसफाइ गर्ने कामबाट निकालेपछि आफ्नै शरिरमा आगो लगाएका कर्मचारीको मृत्यु


अछाम, जेठ २६

जागिरबाट हटाएको भन्दै आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएका बयालपाटा अस्पतालका कर्मचारी सिदार्थ आउजीको मृत्यु भएको छ । युवकको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको हो ।

साँफेबगर नगरपालिका–६ भागेश्वरका सिद्धान्तले सोमबार विहान वयलपाटा अस्पतालको आकस्मिक कक्ष अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् । हेलिकप्टरबाट उद्धार गरेर सोमबार दिउँसो नै कोहलपुर उपचारका लागि लगिइए पनि उपचारकै क्रममा मृत्यु भएको खबर आएको साँफेबगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरपति भट्टले जानकारी दिनुभयो ।

उनका अनुसार एक वर्षअघि सिद्धार्थले खाडी मुलुकमा जाने तयारी गरेका थिए । घर नजिकैको बयालपाटा अस्पतालमा चर्पी सरसफाइ गर्नका लागि विज्ञापन खुलेपछि उनले निवेदन दिएर काम पाएका थिए । अस्पतालले आर्थिक संकट भएको भन्दै उनी लगायत ३२ कर्मचारीलाई अस्पतालबाट निकाल्ने सूचना करार सम्झौता सकिनु दुई महिनादेखि जानकारी गराएका थिए ।