जनता टाइम्स

२८ जेष्ठ २०७७, बुधबार २३:०३

सरकारको निर्णय सबै ठाँउमा लागु नहुने, क्षेत्र तोकिने


काठमाडौं, जेठ २८

सरकारले लकडाउन खुकुलो बनाउने निर्णय सबै ठाउमा लागु नहुने भएको छ । त्यसका लागि सरकारले विहिवार क्षेत्र तोक्ने भएको छ । कोरोना संक्रमण फैलिएका ठाँउमा भने लकडाउनको नयाँ मोडालिटी लागु नहुने भएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा बुधबार राति अवेरसम्म बसेको मन्त्रिपरिषद्को बैठकले पसल खुल्ने दिने, निजी सवारी साधन जोरविजोर प्रणालीमा खुलाउने निर्णय गरेको छ । तर, यी निर्णय सबै ठाँउमा लागु नहुने एक मन्त्रीले जानकारी दिनुभयो । उहाका अनुसार सरकारले यसविषयमा विहिवार विस्तृत रुपमा जानकारी दिनेछ । यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागु हुने भएको छ ।

ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन संचालन गर्न दिने निर्णय भएको छ । ती सवारी साधन जोर–बिजोर प्रणालीमा संचालन हुनेछन् । लामो रुटकालाई भने अहिले अनुमति दिइएको छैन । जोर अंकको गते सवारी साधनको अन्तिम अंक जोर भएका सवारी साधन र बिजोर अंकको गते सवारी साधनको अन्तिम अंक बिजोर भएका सवारी साधन मात्रै चल्न पाउनेछन् । जसअनुसार चारपांग्रे निजी सवारी साधनमा चालकबाहेक २ जना र मोटरसाइकलमा एकजनामात्रै बस्न पाउनेछन् ।