जनता टाइम्स

३० जेष्ठ २०७७, शुक्रबार १३:५७

सरकार ऐतिहासिक क्षणको नजिक, आफ्नो भुभागसहितको नक्सा अब संविधानमा


काठमाडौं, जेठ ३०

सरकारले आफ्नो भूमि समेटेको नक्सालाई संविधानमा समावेश गराउने क्षण नजिक पुगेको छ । प्रतिनिधि सभाबाट शनिबार नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित हुने भएको छ । शनिवार दिउसो एक बजेबस्ने बैठकले सो विधेयक पारित गर्नेछ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले संशोधन हाल्ने समय सकिएकाले शनिबारको बैठकमा संविधान संशोधन पारित गर्ने कार्यसूची तयार भएको जानकारी दिनुभयो । सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो । सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ ।

समाजवादी पार्टीकी सांसद सरिता गिरीले मात्र विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएकी छिन्। गिरीलाई समाजवादी पार्टीका प्रमुख सचेतकले संशोधन फिर्ता लिन निर्देशन दिएपनि अहिलेसम्म लिएकी छैनन् । संविधान संशोधनमाथि निर्णय गर्दा मत विभाजन हुनेछ । अर्थात् प्रतिनिधि सभामा सांसदहरूले संशोधनको पक्ष र विपक्षमा हस्ताक्षर गर्नुपर्नेछ । विधेयक पारित भएर राष्ट्रपतिले लागू भएको घोषणा गरेसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ ।