जनता टाइम्स

३१ जेष्ठ २०७७, शनिबार १७:५५

प्रतिनिधिसभामा दलहरुबीच अद्भुत एकता : संविधान संशोधन विधेयक पारित, बिपक्षमा सून्य मत


काठमाडौं, जेठ ३१ । नेपालको वास्तविक भूगोल समेटेर नक्सा सार्वजनिक भएपछि निशान छाप परिमार्जनका लागि सरकारले अघि बढाएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकले संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पारित गरेको हो । संसदमा सबै दलले राष्ट्रिय अखण्डताका विषयमा अद्भुत एकता देखाएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाम्फेले विधेयक पारित गर्नका लागि प्रस्तुत गर्नुभएको प्रस्तावमा मतदान भएको थियो । कुल २७५ सांसदमध्ये मतदानमा २५८ सांसद मात्र उपस्थित भएका थिए ।

मतदानमा विधेयकको पक्षमा २५८ मत परेको थियो । संविधान अनुसार संशोधन विधेयक पारित गर्न दुई तिहाईमत आवश्यक पर्दछ । सभामुख अग्नीप्रसाद सापकोटाले विधेयक स्वीकृत भएको घोषणा गर्दा बैठक हलमा तालीको गडगडाहट सुनिएको थियो । विपक्षीमा शुन्य मत परेको छ भने तटस्थमा पनि सून्य मत परेको छ ।

प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक अब राष्ट्रिय सभामा पठाइने छ । राष्ट्रिय सभामासमेत दुई तिहाइ बहुमतबाट विधेयक पारित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहोर लगाएपछि नयाँ नक्सासहितको निशान छाप कार्यान्वयनमा आउनेछ ।

कार्यान्वयनमा आएपछि नेपालको निशान छाप प्रयोग हुने सम्पूर्ण सरकारी लेटरप्याड, होर्डिङ् बोर्ड र ब्याचजस्ता सामग्रीहरू परिवर्तन गर्नु पर्ने हुन्छ । संविधानसभाबाट नेपालको संविधान जारी भएपछिको यो संसद्‌मा दर्ता भएको दोस्रो संशोधन विधेयक हो ।