काठमाडौं, असार २ । भक्तपुरमा सडकमा भेटिएका ६ जना बालकको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बालअधिकार परिषदले बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) को समन्वयमा भक्तपुरको कमलविनायकबाट ५ जना र ठिमीबाट एक जना गरी ६ जना बालकको उद्धार गरिएको हो ।
उद्धार गरेलगत्तै उनीहरुको पुनस्र्थापना केन्द्रमा व्यवस्थापन गरिएको परिषदका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो । लकडाउनका बेला भक्तपुरमा पनि सडकमा बालकहरु बेवारिसे अवस्थामा भेटिएको खवर आउने वित्तिकै मन्त्री पार्वत गुरुङले तत्काल उनीहरुको उद्धार गरी व्यवस्थापन गर्न परिषदलाई निर्देशन दिनु भएको थियो । त्यसलगत्तै सडकमा भेटिएका ती बालकहरुको उद्धार गरी संरक्षणका लागि आवश्यक व्यवस्था परिषदले मिलाएको हो ।
लकडाउनको यस अवधिमा काठमाडौं उपत्यकाभित्र ४१ जना र उपत्यका बाहिर ३२ जना गरी जम्मा ७३ जना सडकमा बेवारिसे अवस्थामा भेटिएका बालबालिकाको उद्धार गरी संरक्षणको व्यवस्था मिलाइएको परिषदले जनाएको छ । यसैबीच, मन्त्री गुरुङले सडकमा बालबालिका बेवारिसे अवस्थामा भेटिए तत्काल नेपाल प्रहरी वा बालबालिका खोजतलास तथा समन्वय केन्द्रको हटलाईन सेवा ‘१०४’ मा खवर गरि दिन अपिल गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्