जनता टाइम्स

३ असार २०७७, बुधबार १५:१८

काठमाडौं प्लाजा खाली गर्न नेपाल ट्रष्टको निर्देशन, अब काठमाडौं महानगर बस्ने


काठमाडौं, असार ३

नेपाल ट्रष्टले एक सूचना प्रकाशन गर्दै काठमाडौं प्लाजा खाली गर्न निर्देशन दिएको छ । नेपाल ट्रष्टको कार्यालय र कन्सेप्ट डेभलपरबीच भएको सम्झौता यही असार २ गते सकिएकाले उक्त भवन पूर्णरुपमा खाली गरी नेपाल ट्रष्टको कार्यालयलाई बुझाउन भनिएको छ । ट्रष्टको कार्यालयले सूचना जारी गरेर चालु हालतमा प्रथम पक्षलाई हस्तान्तरण गर्न भनिएको छ ।

२०६६ पुष २३ गते ती दुई पक्षबीच अद्यावधिक सम्झौता भएको थियो । पहिलो पटक २०५० असार ३ गते २७ वर्षका लागि करारनामा भएको थियो । यही असार २ गते करारनामा भएको २७ वर्ष पुगेको छ । नेपाल ट्रष्टको ५६ औ बैठकको निर्णयले सो खाली गराउन भनेको थियो । बैठक २०७६ बैशाख १९ गते बसेको ट्रष्टकी उपसचिव चामिला भट्टराइद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

ट्रष्टको कार्यालयले काठमाडौं महानगरपालिकालाई मासिक ६२ लाख रुपैयाँमा उक्त भवन भाडामा दिनेगरी सम्झौता गर्ने तयारी गरेको छ। महानगरको पुरानो भवन भत्किएपछि उसले सुन्धारा, बबरमहललगायत ठाउँमा घर भाडामा लिएर कार्यालय चलाउँदै आएको छ । धेरै ठाउँमा कार्यालय राख्दा समस्या भएको भन्दै उसले सबै अट्ने गरी काठमाडौं प्लाजा भाडामा लिन लागेको हो ।