जनता टाइम्स

४ असार २०७७, बिहीबार १३:२८

राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भयो संविधान संशोधन विधेयक


काठमाडौं, असार ४ । निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा समेट्न भएको संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ। राष्ट्रियसभामा आज संविधान संशोधन विधेयकको पक्ष र विपक्षमा मतदान हुँदा सवै मत बिद्येयकको पक्षमा परेको हो । मतदानपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संविधानको दोस्रो संशोधन विधेयक पारित भएको घोषणा गर्नुभयो । मतदानमा प्रस्तावको पक्षमा ५७ मत परेको छ।

अब राष्ट्रियसभाबाट समेत विधेयक पारित भएको सूचना प्रतिनिधिसभालाई पठाइनेछ। दुवै सदनबाट पारित भएपछि सभामुखबाट प्रमाणित गर्नेछन्। त्यसपछि यसलाई अन्तिम प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछ।

राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप समेटिनेछ। सरकारले गत जेठ ७ गते लिम्पियाधुरासहितको क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।