जनता टाइम्स

४ असार २०७७, बिहीबार १७:५१

फागुनसम्म कोरोना नियन्त्रण हुन्छ, हरेक खर्चको पाइपाई हिसाब-किताव आउँछ : प्रधानमन्त्री ओली


काठमाडौं, असार ४ प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनसम्म नेपालमा कोरोना नियन्त्रणमा आउन सक्ने बताउनु भएको छ । उहाले माघ अन्तिम नभएपनि फागुनसम्ममा नेपालमा कोरोना भाइरस नियन्त्रणमा आउने बताउनु भएको हो ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले दसैं–तिहारले संक्रमण थप बढाउन सक्ने भए पनि माघसम्ममा नियन्त्रणमा आउने विचार राख्नु भयो । दसैं–तिहार वा छठ जस्तो चाडपर्वले संक्रमणको ग्राफ बढाउन सक्छ तर मंसिरको अन्तिम सातादेखि फेरि ग्राफलाई तल लान सक्छौं’ प्रधानमन्त्री ओलीले सांसदलाई भन्नुभयो, ‘माघसम्ममा नियन्त्रणमा आउनसक्छ र सम्भवत फागुन नियन्त्रणको महिना हुनसक्छ ।’

उहाले कोरोनाको खर्चको सम्पूर्ण विवरण मसिनो गरेर आउने घोषणा समेत गर्नुभयो । ‘क्वारेन्टाइन बनेको छ, बस्नेहरुलाई खुवाएका छन, जनप्रतिनिधिहरुले पैसा खाए भन्दिन सजिलो छ। बहुतै दुख गरेर काम गरेका छन। त्यसमा गुन गर्नुको सट्टा, प्रशंसा गर्नुको सट्टा, कदर गर्नुको सट्टा अपमान गर्नु, सन्देह पैदा गर्नु, उपयुक्त हुँदैन,’ उहाले भन्नुभयो, ‘म सबैलाई आग्रह गर्न चाहन्छु । १० अरब भन्दा केही विभिन्न निकायमा पठाइएको छ । त्यसको मसिनो गरी हिसाबकिताब आलेप, मलेपमा आउँछ । मान्छे काममा लागेका छन यहाँ कसैलाई चाहिँ हिसाब चाहिएको छ। काममा ध्यान छैन। कामप्रतिको गम्भिर्यता छैन। हिसाबकिताब दैनिक चाहिएको छ ।’

उहाले कोरोना नियन्त्रणमा खर्चेको रकमको मात्र नभई सरकारले बजेट प्रस्तुत गर्दाको १४ खर्बको सम्पूर्ण हिसाबकिताब संसदमा आउने पनि बताउनु भयो । उहाले भन्नुभयो, ‘यो मात्रै हैन १४ खर्बको बजेटको सम्पूर्ण हिसाबकिताब सदनमा आउँछ ।’

मान्छेले आफू बाहेक सबै भ्रष्ट सोचेको र सरकारमा रहेकाको चरित्र हत्या गर्नैपर्छ भन्ने सोचेको पनि आरोप उहाले लगाउनु भयो । ‘मान्छेले म बाहेक सबै भ्रष्ट छन । अर्को यस्तो पनि ठान्नु भएन यस देशमा भ्रष्टबाहेक कोही जन्मँदै जन्मेन । अर्को यस्तो पनि ठान्नु भएन सरकारमा ओहोदामा बसेकाहरुलाई जसरी पनि बदनाम गर्नुपर्छ जसरी पनि चरित्र हत्या गर्नुपर्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।