लुकिछिपी आएका थिए उपत्यकाका नयाँ कोरोना संक्रमित
काठमाडौं, असार ५ । प्रभावकारी कदम चालिए पनि काठमाडौं उपत्यकामा लुकिछिपी तथा शक्तिका आडमा मानिस प्रवेश गरेका कारण उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । उपत्यकामा बिहीबार मात्र छ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँका दुई, ललितपुरका एक र भक्तपुरका तीन जनामा सङ्क्रमण देखिएको छ ।
काठमाडौँमा फेलापरेका सङ्क्रमितमा कपन बालुवाखानीका ४५ वर्षका पुरुष र तीनकुनेकी ३४ वर्षकी महिला हुन् । उनीहरू दुवै जना केही दिनअघि मात्रै काठमाडौँ भित्रिएको प्रहरीले जनाएको छ । आफन्तको सल्लाहमा कोरोना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण देखिएको हो । त्यस्तै भक्तपुर व्यासीका २४ वर्षका पुरुष, टीकाथलीका ५० वर्षका पुरुष र भक्तपुर नगरपालिका–१६ का २२ वर्षका पुरुषमध्ये कोही बाहिरबाटै आएको जनाइएको छ । उपत्यकामा देखिएका छ सङ्क्रमितमध्ये चार जनालाई उपचार गर्न पाटन अस्पताल र दुई जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको छ । उपत्यकामा बाहिरबाट आएका व्यक्तिमा धमाधम कोरोना देखिन थालेपछि थप सतर्क हुन दबाब परेको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बाहिरबाट आउने व्यक्तिका लागि क्वारेन्टाइन व्यवस्थाको जिम्मेवारी स्थानीय तहलाई तोकिएको बताउनु भयो । काठमाडौँ उपत्यका प्रवेश गर्न घरधनीदेखि वडा हुँदै पालिकासम्मको सिफारिस अनिवार्य छ तर लुुकिछिपी र शक्तिको आड लिएर आउनेलाई ती नियमले छुन नसकेको कतिपय सम्बन्धित अधिकारी बताउनु हुन्छ । महानगरीय ट्राफिक महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक भीमढकाल प्रहरीले रोके पनि ठूलाबडाले फोन गरेर आउन सिफारिस गर्नाले काठमाडौँमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको बताउनु भयो ।
काठमाडौँ उपत्यका प्रवेश गर्ने तथा बाहिर जाने सवारी साधनको सङ्ख्या दैनिक १० हजारभन्दा बढी रहेको छ । तीमध्ये एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान आवश्यक सिफारिस लिएका धेरै कम छन् । गृह मन्त्रालयबाट जारी ई–पास बोकेर आउनेको सङ्ख्या पनि त्यत्तिकै छ । जसका कारण कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च रहेको सम्बन्धित अधिकारी नै बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्