जनता टाइम्स

५ असार २०७७, शुक्रबार ११:०४

संविधान संशोधन विधेयक नेपाल राजपत्रमा प्रकाशित


काठमाडौं, असार ५

कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गर्ने पारित भएको संविधान संशोधन विधेयक प्रमाणीकरणपछि राजपत्रमा प्रकाशित भएको छ ।

राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयमा आएको छ । राष्ट्रियसभाबाट सर्वसम्मत पारित भइ सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर राष्ट्रपति कार्यालय शीतलनिवास पठाएको केही समयमै हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले बिद्येयक प्रमाणिकरण गर्नुभएको थियो ।

संसदमा संशोधन विधेयक दर्ता भएको २८औं दिनमा अभूतपूर्व राष्ट्रिय एकतासहित संशोधन प्रक्रियाले पूर्णता पाएको छ । लामो समयदेखि नेपालको नक्साबाट हराएको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूमाग संविधानमै समेटिन पुगेको छ । २०३२ सालसम्म नेपालको औपचारिक नक्सामा रहेको लिम्पियाधुरासम्मको भूभाग नेपाल आफैँले नक्सा जारी गर्दा भने छुटाएको थियो ।