जनता टाइम्स

५ असार २०७७, शुक्रबार १३:३२

नागरिकतामा कांग्रेसको मोह : एक हातमा सिन्दुर, अर्को हातमा अंगीकृत नागरिकता


काठमाडौं, असार ५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नागरिकताका विषयमा लचिलो प्रावधान अपनाउनुपर्ने अडान राखेको छ । नेपालीले कुनै पनि विदेशी महिला विवाह गर्ने वित्तिकै अंगीकृत नागरिकता दिनुपर्ने अडान लिएको छ । दक्षिणी छिमेकी राष्ट्रमा निक्कै कडा रहेको यो प्रावधान नेपालमा भने खुकुलो बनाउनुपर्ने कांग्रेसको भनाई रहेको छ ।

नेपाल र भारत खुल्ला सीमा भएका कारण यी दुई देशमा विवाहवारी निक्कै चल्ने गरेको छ । नेपालबाट विवाह गरेर गएका चेलीले लामो समयदेखी भारतीय नागरिकता पाउन सकेका छैनन् भने नेपालमा भने आउने वित्तिकै अंगीकृत नागरिकता पाउने गरेका छन् । पछिल्लो पटक नक्सा पासका विषयमा अंगीकृत नागरिकता पाएकी सरिता गिरीको भूमिकाको विषयलाई लिएर चर्को आलोचना भईरहेका बेला कांग्रेस तत्काल दिनुपर्ने अडानमा उभिएको हो ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा विगत दुई वर्षदेखी यो मुद्दाको टुंगो लगाउन सकेको छैन । पछिल्लो पटक नेकपाले सात वर्ष निरन्तर नेपाल बसेपछिमात्र दिनुपर्ने प्रस्ताव ल्याएको छ । तर, कांग्रेस भने एक हातमा सिन्दुर र अर्को हातमा अंगीकृत नागरिकता दिनुपर्ने प्रष्ट अडान राखेको छ । जसले गर्दा विवाद झन चर्किदै गएको छ ।

प्रमुख प्रतिपक्षले पदाधिकारी बैठकबाट साझा निष्कर्ष निकालेपछि उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा बिहीबार बालुवाटार बैठकमा पार्टीको औपचारिक धारणा सुनाइएको थियो । निधिका अनुसार कांग्रेसले अंगीकृत नागरिकताका लागि ७ या ६ वर्षको कुनै पनि प्रावधान राख्न नहुने धारणा सुनाएको छ । ‘संविधानअनुसार अंगीकृत नागरिकता लिने या नलिने प्राथमिकता सम्बन्धित व्यक्तिमा रहेकाले कानुनमा कुनै पनि किसिमका अड्चन र निषेधित प्रावधान राख्न नहुने पार्टीको निष्कर्ष हामीले सुनायौं’, उहाले भन्नुभयो ।