काठमाडौं, असार ५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको नयाँ मोडालिटी जोर विजोर प्रणालीलाई काठमाडौं उपत्यकामा थप कडाई गरेको छ । उपत्यकामा कोरोना संक्रमित बढदै गइरहेको बेला आफूखुसी कामै नभएकाहरु समेत सवारी साधन लिएर सडकमा निस्कने प्रबृत्ति बढेपछि महाशाखाले जोर बिजोर प्रणालीमा थप कडाई गरेको हो ।
महानगरीय टाफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम ढकालले जोर विजोर प्रणालीको पूर्णपालना नभएकोले थप कडाई गरिएको बताउनु भयो । ‘हामीले ट्राफिक महाशाखा) एकातर्फ आम नागरिकहरूलाई सचेतना जगाउन, सामाजिक दुरीको पालना गराउन तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउनका लागि सजगता र सचेतनाका लागि उपत्यकाको मुख्य मुख्य चोकहरूमा प्लेकार्डमार्फत सचेतना दिईरहेको छौं भने अर्कातर्फ जोर विजोर प्रणालीको पूर्णपालना गराउन चेकप्वाईन्टहरू राखि थप कडाई गरिरहेका छौं,’ ढकालले जनताटाइम्ससँग भन्नुभयो ।
उहाँका अनुसार आज मात्रै अटेर गरी जोर विजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका ९४८ वटा दुई पाङ्ग्रे, २४७ भाडाकार (ट्याक्सी) र १६३ वटा साना तथा ठूला सवारी गरी जम्मा १,३५८ वटा सवारी साधनलाई उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । एसएसपी ढकालले विभिन्न बहानामा सवारी साधन चलाउनेहरुको सख्या बढेको कारण थप चेकजाँज गरी कडाई गर्नुपरेको प्रष्ट पार्नुभयो ।
हालसम्म लकडाउन कार्यान्वयनमा आमनागरिकले पुर्याएको सहयोग प्रति आभार व्यक्त गर्दै अत्यावश्यक सेवा र कामबाहेक सवारी साधन नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत उहाँले आग्रह गर्नुभयो । काठमाडौँ उपत्यकामा जेठ ३० गतेदेखि आजसम्म जोर विजोर प्रणाली उल्लङ्घन गर्ने १२,५८२ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्