काठमाडौं, असार ५
विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेलगत्तै वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने वर्तमान कानुनी व्यवस्था कडा बनाउन सत्तारुढ नेकपाले तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिनुपर्नेमा सहमत भएको सो पार्टीका सांसदले बताउनु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपालमा नागरिकता दिने वर्तमान प्रावधान परिमार्जन गर्ने बेला आएको बताउनु भएको बैठकमा सहभागी सांसदहरुले बताउनु भएको छ । नेकपा सांसद पम्फा भुषालले यसमा अध्यक्षद्वय सहमत भएको बताउदै भन्नुभयो, ‘अध्यक्षद्वयले समिति सचिवालयले ल्याएको ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने प्रवाधान अगाडि बढाउन सहमति जनाउनु भएको छ ।’
सांसदसँग छलफल गरेपछि नेकपाले नागरिकता विधेयक टुंगो लगाउन सचिवालय बैठक बोलाएको छ । बैठक शनिबार बिहान ९ बजेका लागि तय भएको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो । नागरिकतामा राखिने प्रावधानका विषयमा दलहरूबीच सहमति नहुँदा विधेक संसदीय समितिमा अड्किएको छ ।
बैठकपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष छलफल गरेर सचिवालय बैठक बसेर टुङ्गो लगाउने निर्णय भएको संविधान सभाका अध्यक्ष समेत रहनु भएका नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्