भक्तपुर, असार ५ । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता एंव सांसद महेश बस्नेतले प्रधानमन्त्री केपी र्शा ओलीको विरोध मात्रै गर्ने गलत प्रवृत्ति लामो समय नटिक्ने घोषणा गर्नुभएको छ ।
सूर्यविनायक नगरपालिकाको आजबाट शुरु भएको सातौँ नगरसभा एवं नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका नेता बस्नेतले नेपालमा केही समुह र ब्यक्तिहरुमा जसरी पनि प्रधानमन्त्री ओलीको बिरोध गर्नैपर्ने गलत रोग रहेको भन्दै यस्तो घोषणा गर्नुभएको हो । ‘प्रधानमन्त्रीको विरोध मात्रै गर्ने गलत प्रवृत्ति अव लामो समय टिक्दैन,’ बस्नेतले भन्नुभयो । उहाँले सरकारले अनियमितता, भ्रष्टाचार गर्नेलाई कारवाही गर्दै आएको र आगामी दिनमा पनि कारवाही गर्ने बताउँदै प्रधानमन्त्रीको विरोध मात्रै गर्ने प्रवृत्ति गलत भएको र लामो समय नटिक्ने घोषणा गर्नुभयो ।
सुशासन र भ्रष्टाचारको विषयमा वर्तमान सरकारले उत्कृष्ट कार्यहरु गरिरहेको बताउँदै उहाँले प्रधानमन्त्रीले भनेको कुरालाई गलत व्याख्या गरी विभिन्न योजनाका साथ केही व्यक्ति वा समूह लागिपरेकोप्रति भने कडा आपत्ति जनाउनु भयो । बस्नेतले भक्तपुरमा निर्माण हुने कुनै पनि साना, ठूला योजना तथा राष्ट्रिय गौरवका आयोजनालाई यो वा त्यो बहानामा रोक्न नसकिने प्रष्ट पार्नुभएको छ । सूर्यविनायक नगरपालिकाको आजबाट शुरु भएको सातौँ नगरसभा एवं नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका नेता बस्नेतले जनताको विकासको चाहनालाई कसैले कुनै बाहनामा रोक्न नसक्ने बताउनुभएको हो ।
नेता बस्नेतले भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला, कर्भड हल, आधुनिक वीर अस्पताल, स्मार्ट सिटी, आधुनिक सभागृह, राष्ट्रिय प्राणी उद्यान, कोटेश्वर जडिबुटी सुरुङ मार्गलगायतका राष्ट्रिय गौरवका आयोजनाहरु कसैको इच्छाले नरोकिने बताउँदै यस्ता आयोजना सम्पन्न भएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“नेमकिपाले रङ्गशालाको विरोध गर्दै आएको छ, सांसद प्रेम सुवालले संसद् मै पनि विरोध गर्नुभयो, विरोधले विकास रोकिँदैन, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले अन्तर्राष्ट्रियस्तरको रङ्गशाला कहाँ बनाउने मिलेर निर्णय गरोस्, कुनै हालतमा रङ्गशाला बन्छ, उहाँले भन्नुभयो । भक्तपुरमा १८ हजार रोपनीमा बन्ने स्मार्ट सिटी राज्यको शून्य लगानीमा बन्ने बताउँदै उहाँले समार्ट सिटीले नछुने क्षेत्रमा दुईवटा नयाँ शहर निर्माणका प्रक्रिया अगाडि बढेको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सदस्यहरु डा राजेन्द्रमान श्रेष्ठ, शशीजङ्ग थापा, कृष्णलाल भँडेल, सरस्वती बाटी, रजनी जोन्छे, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, नेकपाका जिल्ला अध्यक्ष बचन देउजा, नेपाली काँग्रेसका जिल्ला सचिव निशान ढुङ्गेलले कोरोनाको महामारीबीच आएका चुनौतीको सामाना गर्दै नगरपालिकाको नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सचिव सूर्य गौतमले नगरपालिकले सङ्घीय सरकारको लक्ष्यअनुरुप कार्यक्रमहरु ल्याएको बताउँदै जनताले विकासको अनुभूति गरिरहेको बताउनुभयो ।
नगरपालिकाका प्रमुख वासुदेव थापाले आव २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । उहाँले असार ८ गते बजेट सार्वजनिक गर्ने जानकारी पनि दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्