जनता टाइम्स

७ असार २०७७, आईतवार १३:५८

अंगीकृत नागरिकतालाई सात वर्ष कुर्नुपर्ने प्रावधान नमान्ने कांग्रेस पदाधिकारीको निर्णय


काठमाडौं, असार ७

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गरी आएका विदेशी महिलालाई सात बर्षपछि अंगीकृत नागरिकता दिने प्रस्तावित नमान्ने निर्णय गरेको छ । कांग्रेस पदाधिकारी बैठकले सो प्रावधान असंवैधानिक रहेको भन्दै नमान्ने निर्णय लिएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सो प्रावधानसहितको विधेयक निणार्यर्थ प्रस्तुत गरेमा समितिमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले फरक मत राखेर असहमति जनाउने निर्णय लिएको छ । समितिको बैठक आजै दुई बजे बोलाईएको र मतविभाजनका आधारमा विधेयक टुंगो लगाउने सम्भावना समेत रहेको छ ।

नेकपा सचिवालयको शनिबारको बैठकले समितिले प्रस्ताव गरेअनुसारकै विधेयकलाई अघि बढाउने निर्णय लिएको थियो । अर्को विपक्षी दल जनता समाजवादीले पनि उक्त विधेयकको विरोध गर्दै आएको छ । समितिमा उक्त पार्टीले पनि फरक मत राख्ने तयारी गरेको छ ।