काठमाडौँ, असार ९
सरकारी कार्यालयहरूले आफ्ना दस्तावेजमा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा समेटिएको नयाँ निशाप छाप प्रचलनमा ल्याउन थालेका छन् ।
संविधान संशोधनको एक सातामै सरकारी कार्यालयहरूले आफ्ना दस्तावेजमा लिम्पियाधुरासहितको नयाँ नक्सा प्रचलनमा ल्याउन थालेका हुन् । अब सरकारी कार्यालयका वेबसाइट, लेटरप्याड र छापमा नेपालको नयाँ नक्सा देख्न पाइन्छ, जसमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको छ ।
संघीय संसदका दुवै सदनबाट संविधान संशोधन पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नयाँ नक्सासहितको नेपालको निशान छाप प्रचलनमा आएको हो । संशोधित संविधानमा निशान छापमा नेपालको पुरानो नक्साको ठाउँमा नयाँ नक्सा राखिएको छ । सरकारी कार्यालयहरूले त्यही नयाँ निशान छाप प्रचलनमा ल्याउन थालेका हुन् ।
केन्द्रीय कार्यालयहरूले सबभन्दा पहिला आ–आफ्नो वेबसाइटमा र त्यसपछि क्रमशः सरकारी दस्तावेजमा नयाँ नक्सा प्रचलनमा ल्याउने क्रम सुरु गरेका छन् । नयाँ निशान छाप प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सबभन्दा पहिला प्रचलनमा ल्याएको हो । त्यसपछि गृह मन्त्रालय र अरू केन्द्रीय कार्यालयहरूले आ–आफ्ना वेबसाइट, लेटरप्याड र छापमा नयाँ निशान छाप प्रचलनमा ल्याउन थालेका हुन् ।
प्रतिक्रिया दिनुहोस्