जनता टाइम्स

९ जेष्ठ २०७६, बिहीबार १५:५५

निर्मलाकी आमालाई भेटेर पौडेलले, भन्नुभयो : अपराधी कठघरामा उभ्याउनुपर्छ


काठमाडौं, जेठ ९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्मलाको हत्यारालाई पक्राउ गर्नुपर्ने बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार आयोजित कार्यक्रममा उहाँले ११ महीनाअघि भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारले सोही ठाउँबाट अनुसन्धान गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘हत्यारा पत्ता नलाग्नु गम्भीर विषय हो ।

अपराधी जोसुकै भए पनि कठघरामा उभ्याउनुपर्छ।’ हत्या गरिएकी बालिका पन्तको घरमा विहीबार बिहानै पुगेर पौडेलले पन्तकी आमा दुर्गादेवीसँग भेट समेत गर्नुभएको थियो । त्यस्तै उहाँले संघीयताको सवालमा सरकारले लापरबाही भइरहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारमा केन्द्रीकरणको प्रवृत्ति देखापरेको छ । शासकहरू केन्द्रीकृत मानसिकतामा देखिएकाले संघीयतामा आँच आउने स्थिति आएको हो ।’ त्यस्तै उहाँले आफ्नो पार्टीलाई जात, क्षेत्र भूगोलको आधारमा नभइ सिद्धान्तको राजनीतिमा ल्याउन आफू प्रयासरत रहेको बताउनुभयो ।