जनता टाइम्स

१० असार २०७७, बुधबार १८:२०

नेपाली चेलीसँग विवाह गर्ने विदेशी पुरुषलाई पनि नागरिकता दिनुपर्नेमा कांग्रेस सभापति देउवाको जोड


काठमाडौं, असार १०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली चेलीसँग विवाह गर्ने विदेशी पुरुषलाई पनि नागरिकता दिनुपर्ने माग उठाउनु भएको छ । उहाले नागरिकता प्रदान गर्ने समयका विषयमा केही कुरा उल्लेख नगरेपनि नागरिकतामा समानता हुनुपर्ने बताउनु भएको हो ।

सामाजिक सञ्जालमा लेख्दै उहाले महिला र पुरूषबीच विभेदको रेखा नकोरौँ भन्दै लेख्नु भएको छ । ‘हाम्रो संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको छ। छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनु हुँदैन पनि’, उहाले अगाडी लेख्नु भएको छ, ‘नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउने, तर नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन ।’

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नेपाल बसेको सात वर्षपछि अंगीकृत नागरिकता दिने व्यवस्थाको नागरिकता विधेयक अहिले संसदमा पुगेको छ । नेकपाको बहुमतको निर्णय सो विधेयक संसदीय समितिबाट बहुमतले पारित गरेर संसदमा पुगेको हो ।

सोही विषयलाई लिएर सभापति देउवाले अगाडी लेख्नु भएको छ, ‘यसैले, महिलालाई दोस्रो दर्जाका नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिङ्गको आधारमा विभेद नहुने, अनि समानताको अवधारणा–मर्म अनुरुप नागरिकता विधेयक अघि बढाउन म सत्तारूढ नेकपासँग माग गर्दछु ।’ नागरिकताका विषयमा कांग्रेसकै कतिपय नेताले सो विधेयक ठिक भएको बताएका छन् । मधेशवादी दलहरुले भने तत्कालै नागरिकता दिनुपर्ने र राजनीतिक अधिकार पनि दिनुपर्ने माग अगाडी सार्दै आएका छन् ।