जनता टाइम्स

१० असार २०७७, बुधबार १९:५९

नक्सा सर्वसम्मत पास गरेकोमा राष्ट्रपतिद्वारा दलहरुको प्रशंसा, एक कप चिया पिएर निस्के नेताहरु


काठमाडौँ, असार १०

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट सर्वसम्मत देशको नयाँ नक्सा पारित गरेकोमा दलहरुको प्रशंसा गर्नुभएको छ । उहाले सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नक्सा संसदबाट सर्वसम्मत अनुमोदन गरेको भन्दै दलका नेताहरुलाई बधाई र धन्यवाद दिनुभएको हो ।

बुधबार साँझ संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेताहरु, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरुलाई शीतल निवासमा बोलाएर राष्ट्रपतिले नक्सा अनुमोदनको खुशी व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले नयाँ नक्सा अनुमोदनमा दलहरुले देखाएको अभूतपूर्व एकताप्रति आफू खुशी रहेको भन्दै नेताहरुलाई धन्यवाद दिनु भएको थियो ।

साथै कोरोना भाइरसको महामारीविरुद्ध पनि सबै दलहरुबीच एकता नै देखिएको भन्दै राष्ट्रपति भण्डारीले आगामी दिनमा पनि यस्तै एकता कायम गर्न सुझाएको एक नेताले जानकारी दिनुभयो । नेताहरुलाई राष्ट्रपतिले एक एक कप चिया खुवाएर पठाउनु भएको एक नेताले भन्नुभयो ।