जनता टाइम्स

११ असार २०७७, बिहीबार १५:४७

हवाई फायर गरी कोरोना संक्रमितको शव व्यवस्थापन


पोखरा, असार ११ । प्रहरीले कोरोना संक्रमितको शव ब्यवस्थापन गर्न हवाई फायर गर्नुपरेको छ । स्थानीयले संक्रमितको शव गाडन नदिने भन्दै अवरोध गरेपछि आज प्रहरीले ८ राउण्ड हवाई फायर गर्नुका साथै ८ जनालाई प्रक्राउ गरेको हो ।

प्रहरीले बल प्रयोग गरेपछि पोखरामा कोरोना भाइरस संक्रमितको शव व्यवस्थापन भएको छ । गएराति कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको स्थानीय प्रशासनले पोखरा लेखनाथको तल्लो गगनगौंडा क्षेत्रमा पर्ने लामतरास्थित सेती नदी किनारमा शव व्यवस्थापन गर्न खोज्दा स्थानीयले अवरोध गरेपछि हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कास्कले जनताएको छ ।

कास्की प्रहरी प्रवक्ता डिएसपी सुभाष हमालले शव व्यवस्थापनको क्रममा ८ राउण्ड हवाई फायर गर्नुका साथै ८ जना प्रक्राउ गरिएको जानकारी दिनुभयो । स्थानीयहरु प्रदर्शन र तोडफोडमै उत्रिएपछि प्रहरीले बल प्रयोग गर्नूपरेको उहाँको भनाई छ । शव गाड्न नदिने भन्दै पोखरा महानगरपालिका वडा नं. ३२ का स्थानीयले आज विहानैदेखि टायर नै बालेर विरोध प्रदर्शन थालेका थिए । तर प्रशासनले प्रहरी फोर्स लगाएर शव व्यवस्थापन गरिएको हो ।

यसअघि पहिलो कोरोना संक्रमितको शव पनि प्रशासनले बल प्रयोग गरेरै व्यवस्थापन गर्नुपरेको थियो । पोखरामा केही अराजक समुहले कोरोनाको त्रास देखाउँदै स्थानीयलाई भडकाएर यस्तो असामाजिक काम गर्दै आएको छ । सोही निश्कर्षका आधारमा प्रशासनले बल प्रयाग गरी शव ब्यवस्थापन गरेको हो ।