जनता टाइम्स

११ असार २०७७, बिहीबार १८:३८

चीनसँगको सीमा बिवादबारे बोल्यो सरकार


काठमाडौं, असार ११ । सरकारले छिमेकी मित्रराष्ट्र चीनसँग नेपालको सीमा विवाद नरहेको प्रष्ट पारेको छ । भारतले मिचेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी भई संबिधान संशोधन जस्तो ऐतिहासिक काम भएसँगै चीनले पनि नेपाली भुमि मिचेको र चीनसँग पनि सीमा समस्या रहेको समाचार बाहिर आएपछि सरकारले चीनसँग सीमा समस्या नरहेको प्रष्ट पारेको हो ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी नेपालको चीनसँग सीमा समस्या नरहेको बताएको छ । मन्त्रालयले सीमा विवादसम्बन्धी समाचार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा प्रकाशन भएको तर कृषि मन्त्रालयले नै त्यस्तो प्रतिवेदन अस्तित्वमा नै नभएको बताएको पनि प्रष्ट पारेको छ ।

परराष्ट्र मन्त्रालयले बिज्ञप्तीमा कृषि मन्त्रालयले सीमासम्बन्धी विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने पनि उल्लेख बताएको छ । बिज्ञप्तीमा हराएको भनिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ राख्दै नराखिएको उल्लेख छ । प्राकृतिक कारणले दुई देशबीचकै सहमतिमा ती स्तम्भ नराखिएको परराष्ट्र मन्त्रालयको भनाइ छ । बिज्ञप्तीमा नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम रहेको उल्लेख छ ।

सीमासम्बन्धी केही समस्या देखिएमा दुई देशबीचको समझदारीमा समाधान गर्ने पनि परराष्ट्रले विज्ञप्तिमार्फत प्रष्ट पारेको छ । कृषि मन्त्रालयले पनि आजै विज्ञप्ति जारी गरी नेपाल र चीनबीच सीमा विवाद भनी उल्लेख गरिएको समाचारमा आधार बनाइएको प्रतिवेदन मन्त्रालयबाट प्रकाशित नै नभएको प्रष्ट पारेको छ । ‘उक्त समाचारको आधार बनाइएको प्रतिवेदन यस मन्त्रालयबाट प्रकाशित नै नभएको र सोसम्बन्धी विषय मन्त्रालयको कार्य क्षेत्रसमेत नभएकाले उक्त समाचारमा कुनै सत्यता नरहेको सम्बन्धित सबैमा जानकारी गराइन्छ’ कृषि सचिव राजेन्द्रप्रसाद भारीले बिज्ञप्ती जारी गरी भन्नुभएको छ ।

भारतले नेपाली भूमि मिचेको र थुप्रै स्थानमा सीमा समस्या रहेको तथ्यलाई छाँयामा पार्न भारतीय मिडियाहरुले चीनले नेपाली भूमि मिचेको तर केही नबोलेको अफवाह फैलाएका थिए । सोही आधारमा नेपालका केही मिडयाले पनि दुवै छिमेकी एकै हुन, नेपालको सीमा मिचिरहेका छन भन्ने आसयका साथ भारतलाई साथ दिने गरी समाचार प्रकाशन गरेका थिए ।