जनता टाइम्स

१२ असार २०७७, शुक्रबार १५:२२

परराष्ट्रमन्त्री ज्ञवालीले गरे सीमा समस्या समाधानका लागि भारत बार्तामा बस्नै नचाहेको यस्तो खुलासा


काठमाडौं, असार १२ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सीमासम्बन्धी समस्या समाधानका लागि नेपालले भारतलाई पटक पटक आग्रह गरे पनि भारत वार्तामा बस्नै नचाहेको जानकारी दिनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्यसमेत रहनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले स्थायी कमिटीको बैठकमा आफ्नो धारणा राख्दै यस्तो जानकारी गराउनु भएको हो ।

परराष्ट्र मन्त्री ज्ञवालीले नेपालले तीनपटक भारतलाई वार्ताका लागि प्रस्ताव पठाएको तर जवाफ नआएको बताउनु भयो । ‘नोभेम्बर पहिलो साता भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गरिसकेपछि त्यस विषयमा आपत्ति जनाउँदै भारतलाई समस्या समाधानका लागि तीनपटक वार्ताका लागि प्रस्ताव गर्यो । पहिलोपटक नोभेम्बरमा, दोस्रो पटक डिसेम्बरमा र तेस्रोपटक फेब्रूअरीमा । तर, भारतले कुनै जवाफ नै पठाएन,’ स्थायी कमिटी बैठकमा ज्ञवालीको भनाई उधृत गर्दै एक नेताले जनताटाइम्ससँग भन्नुभयो । ती नेताका अनुसार परराष्ट्रमन्त्री ज्ञवालीले सीमा समस्या वार्तामार्फत् समाधान गरिनुपर्ने भए पनि भारतले वास्ता नगरेको तथ्य राख्नुभएको हो ।

आफ्नो धारणा राख्ने क्रममा उहाँले चीनसँग नेपालको कुनै सीमा समस्या नभएको र आगामी दिनमा कुनै समस्या आएमा संवादमार्फत् समाधान गरिने बताउनुभयो । यस विषयमा बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कृषि तथा पशुपन्छी मन्त्रालयको अनधिकृत तथ्यांकलाई आधार बनाएर समाचार बनाएकोमा आपत्ति जनाउँदै नेपाल–चीनबीचका सीमा समस्या सन् १९६१ अक्टोबर ५ को सीमा सन्धिअनुसार निर्धारित गरिएको र त्यसपछिको समझदारीपत्रमा दुवै मुलुकले हस्ताक्षर गरेको जानकारी गराएको थियो ।