जनता टाइम्स

१३ असार २०७७, शनिबार १४:४९

कृषिमन्त्री घनश्याम भुसालको खुलासा : कृषि क्षेत्रलाई मिहेनत गरेरै बर्बाद पारिएको रहेछ


काठमाडौं, असार १३ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई निकै मेहनत गरेर नै बिगार्ने काम भएको खुलासा गर्नुभएको छ । मन्त्री भुसालले ४० बर्षदेखि नेपालको कृषि क्षेत्रलाई विगार्ने काम मात्रै भएको आफ्नो निश्कर्षसमेत सुनाउनु भएको छ ।

राष्ट्रिय धान दिवशको अवसरमा एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नालिष्टस् (आनाज) ले आयोजना गरेको अन्तरक्रियामा बोल्दै कृषिमन्त्री भुसालले ३०÷४० वर्ष यता मेहनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताउनु भयो । उहाँले कृषि विकासका लागि भाषण गर्ने, ठेक्का पट्टा गर्ने, विभिन्न प्रोजेक्टहरु ल्याएर विगार्ने काम गरिएको तथ्यहरु राख्नुभयो । ‘हामीले त ३०/४० वर्ष भयो कृषि क्षेत्रलाई बर्बाद पार्न थालेको । हाम्रा साना दुःखले बर्वाद पारेको होइन । हामीले बहुत मेहनत गरेर नै बर्बाद परेका छौं । हाम्रो कृषि व्यवस्थालाई हामीले भाषण गरेका छौं, हामीले अनेक प्रयत्नहरु गरेका छौं, ठेक्का पट्टा गरेका छौं, प्रोजेक्टहरु गरेका छौं । के के गर्यौं गर्यौं यो कृषि व्यवस्था विगार्नका लागि,’ मन्त्री भुसालले भन्नुभयो ।

उहाँले निकै लामो समयसम्म विगार्दै आएको कृषि व्यवस्थालाई सुधार्न अझै केही समय लाग्ने जानकारी पनि दिनुभयो । देशमा औद्योगीक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि वस्तुको व्यवस्थापन बजारलाई छाडदा कृषि व्यवस्था र प्रणाली नै विग्रेको उहाँको भनाई छ । उहाँले किसानका परम्परागत ज्ञान र सीपलाई विकास गर्न नसक्दा पनि नेपालको कृषि क्षेत्र पछाडि परेको बताउनु भयो ।

‘कस्तो देखियो भने कृषि प्रधान देश हावा, पानी, माटो आदि इत्यादि फेभर गरेको यस्तो मुलुकमा हामीले हरेक दिन किनेर खानुपर्ने, अन्न पनि किनेर खानुपर्ने, फलफुल किनेर खानुपर्ने, माछामासु किनेर खानुपर्ने, दुध किनेर खानुपर्ने यस्ता दिन आए हेर्दाहेर्दै,’ भुसालको भनाई थियो ।