जनता टाइम्स

१३ असार २०७७, शनिबार १७:१५

भ्रममा रमाउने बिचरा सांसद, यसरी गर्दैछन आफ्नै बेइज्जत


काठमाडौं, असार १३

नेता अझ त्यसमाथी जनताका समस्या सरकार समक्ष पु¥याउने र नीति बनाउने सांसद बौद्धिक रुपमा सक्षम हुनुपर्ने हो । किनकी हरेक सांसदले गरेका कुरा राष्ट्रका लागि गौरवको विषय बन्नुपर्छ । उनिहरुले गरिरहेका क्रियाकलपा सम्वन्धित जिल्लाका बासिन्दा र देशका नागरिकले पनि हेरिरहेका हुन्छन् ।

सांसदले अझ धेरै अध्ययन र अनुसन्धान गरेर संसदमा सरकारलाई दह्रो गरी खवरदारी गर्नसक्नु पर्ने हुन्छ । अध्ययन र अनुसन्धान बिनाको भनाई केवल सेलिब्रेटि बन्ने होड मात्र हो । क्षणिक भर वाहवाह पाउने र सत्यमा टिकाउ नहुने त्यस्ता भनाई र गराईको कुनै तुक हुदैन ।

संसदका हरेक बैठकमा हेर्नुहुन्छ भने करिव करिव आधा सांसदहरु पत्रिकामा आएको विषयलाई मात्र उत्थान गर्छन् । यो समाचारमा आज यस्तो भनेको छ के हो ? भनेर सोध्छन् ? पत्रिकाले लेख्यो भने सोध्छन् । यो प्रवृत्ति अल्छिपनको परकाष्ठ हो । न आफु सत्य के हो सोधिखोजी गर्छन् । नत जान्ने बुझ्ने कोशिस नै गर्दछन् । आर्थिक कुरामा अनियमितताको आशंका भएको लेखिएमा सांसद नै सबैभन्दा पहिला संसदमा गएर भ्रष्टचारी, बलत्कारी र हत्यारा भन्दै उफ्रिन्छन् । जुन कति सत्यता हो होइन् भनेर जनता आफैले विचार गरिरहन्छन् ।

पछिल्लो पटक यस्तै प्रकरण संसदमा देखिएको छ । चीनले नेपालको सीमा मिचिएको विषयमा अहिले संसदमा नेपाली कांग्रेसका सांसदले संकल्प प्रस्ताव दर्ता गराएका छन् । यो प्रस्तावका पछाडी धेरै स्वार्थहरु लुकेका छन् । चीनले मिचेको नेपाली भूमि फिर्ता गराउन र अतिक्रमणमा परेका भूमिको अवस्था संसदलाई जानकारी गराउन सरकारलाई निर्देशन दिनका लागि भन्दै संघीय संसद प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका छन् ।

उनिहरुको प्रस्ताव दर्ता गर्नुअघि एक राष्ट्रिय पत्रिकामा चीनले नेपालको विभिन्न ११ स्थानमा भूमि मिचेको खवर पहिलो पृष्ठमा छापिएर आयो । भारतले कब्जा गरेर राखेको लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउने तयारी सरकारले गरिरहदा केही समुहले सो समाचार प्रायोजित रुपमा ल्याएको स्वयम समाचार प्रकाशन गर्ने पत्रिकाले स्पष्ट जस्तै बनाएको छ । जसले गर्दा समाचार नै कति विश्वसनीय हुन्छन् वा हुदैन भनेर पटक पटक सवालहरु समेत उठिरहेका छन् । पत्रिकामा लेखेका सबै कुरा सहि हुन्छन् भन्ने कुरा यो घटनाले पनि थप पुष्टि गरिसकेको छ ।

संकल्प प्रस्ताव दर्ता गराउनेहरुमा कांग्रेस सांसदहरू देवेन्द्रराज कँडेल, सत्यनारायण शर्मा खनाल र संजयकुमार गौतम रहनु भएको छ । उहाहरुको पृष्ठभूमिले पनि प्रस्ताव कसरी आयो भनेर थाहा पाउन त्यत्ति गाह्रो नहोला । तीन सांसदले गोरखा, सोलुखुम्बु, दार्चुला, दोलखा, हुम्लालगायतका जिल्लाका केही भूमि चीनको अतिक्रमणमा परेको संकल्प प्रस्तावमा लेखिएको छ । त्यस्तै, नेपाल र चीनको सीमा छुट्याउने स्तम्भ पनि हराएको उल्लेख गरिएको छ ।

तीनै सांसदले कहाबाट त्यो तथ्यांक पत्ता लगाए । सो कुरा उनिहरुले आउँदो संसद बैठकमा प्रस्तुत गर्नेछन् होला । तर, यसबीचमै उनिहरुको खेलो नांगो रुपमा उदागिएको छ । समाचार प्रकाशन गर्ने पत्रिकाले नै स्रोतले नै आफुहरुलाई गलत रिपोर्ट दिएकाले क्षमयाचना भन्दै सार्वजनिक रुपमा माफी मागी सकेको छ । तर, अहिलेसम्म बिचार ती तीन सांसदको कुनै अत्तोपत्तो छैन ।

संसद बैठक १७ गते बोलाइएको छ । सो बैठकमा आएर उनिहरुले बोल्ने हिम्मत राख्छन् कि राख्दैन् हेर्न बाँकी छ । कांग्रेसका तीनै सांसदलाई कटाक्ष गर्दै नेकपाका नेता विष्णु रिजालले भन्नुभएको छ, ‘चीनसँगको सीमाबारे गलत सामग्री प्रकाशन गरेकोमा ‘कान्तिपुर’ दैनिकले क्षमा मागेको छ । समाचार निस्किनासाथ के-के न पाइयो भनेर प्रतिनिधिसभामा प्रस्ताव दर्ता गरिहाल्ने दयनीय योग्यताका माननीयहरूले जनतासमक्ष क्षमा माग्नु पर्दैन ? परराष्ट्र सम्बन्धलाई खेलवाड सम्झिने घातक प्रवृत्ति !’