जनता टाइम्स

१४ असार २०७७, आईतवार २२:१९

माथिल्लो तामाकोशीमा ऐतिहासिक सफलता : ठाडो सुरुङमा जोडियो पाइप


काठमाडौँ, असार १३

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल निर्माणसम्बन्धी काम आइतबार पूरा भएको छ । कूल ४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको जटिल मानिएको दुई ठाडो सुरुङको काम लकडाउनको समयमा सम्पन्न भएको हो ।

कूल ६८३ मिटर लामो दुई ठाडो सुरुङमा पाइप जडानको काम पूरा भएको छ । आयोजनाकै सबैभन्दा जोखिमपूर्ण र चुनौतीपूर्ण अर्को करिब १,००० फीट (३०५ मिटर) अग्लो माथिल्लो पेनस्टक स्याफ्टको अन्तिम पाइप राख्ने कार्य आज सम्पन्न भएको छ । करिब १,२०० फीट (३६७ मिटर) अग्लो तल्लो पेनस्टक स्याफ्टको अन्तिम पाइप जडान यसअघि नै गत जेठ महिनामा सम्पन्न भइसकेको छ । गत असारदेखि ठाडो सुरुङमा पाइप जडानको काम शुरु भएको थियो । वर्षदिनमै जटिल काम सम्पन्न भएको हो ।

माथिल्लो र तल्लो ठाडो सुरुङको बीचको १०० मिटर लामो सुरुङमा पाइपनै जडान गरिने भएकाले असजिलो काम सकिएपछि अब निर्माण व्यवसायी सो कामका लागि परिचालित हुनेछ । सो कार्यका लागि थप एक महिना समय लाग्नेछ । तेर्सो स्थानमा राखिने केही थान पाइप भारतको कोलकात्तामा छ । कोरोनाले भारतबाट ती पाइप आयातका लागि समस्या भएको छ ।

हाल सुरुङमा क्रङक्रिट लाइनिङ र ग्राउटिङको काम भइरहेको छ । बाँधस्थलको गत वैशाखमानै परिक्षण सम्पन्न भइसकेको छ । प्रसारण लाइन निर्माणको काम पूरा भइसकेको छ । सो आयोजनाको हाल भौतिक प्रगति ९९ दशमलव छ प्रतिशतको हाराहारीमा पुगेको छ । आयोजनाले भने अब प्रगति मापन नगर्ने, काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । प्रसारण लाइन निर्माण र सवस्टेशनको काम सम्पन्न हुने चरणमा पुगेको छ । कूल २२० केभी क्षमताको प्रसारणलाइन निर्माण सकिएको भए पनि केही मल्टिसर्किटका टावरमा केही काम बाँकी रहेको आयोजनाले जनाएको छ ।