Single Top Ad
अर्थप्रदेश १समाचार

गतवर्ष भन्दा साढे ८ प्रतिशत बढि रोपाई

काठमाडौं, असार १५

समयमै परेको पानी र कोरोना महामारीले गरेको लकडाउनका कारण रोपाईमा तिव्रता आएको छ । गतवर्षको तुलनामा यस वर्ष अहिलेसम्म देशभर साढे ८ प्रतिशत रोपाई बढि भएको छ ।

कृषि विभागका अनुसार मूलुकभर २० प्रतिशत भन्दा बढी रोपाई भएको छ । गत वर्ष यहि अवधिमा साढे ११ प्रतिशत मात्र रोपाई भएको थियो । विभागका वरिष्ठ कषि अर्थ विज्ञ तथा सूचना अधिकारी महादेव प्रसाद पौडेलले यस वर्ष १३ लाख ७१ हजार हेक्टर क्षेत्रफलमा रोपाई हुने अनुमान रहेको बताउनुभयो ।

यसैबीच, प्रदेश–१ मा धान रोपाइँ २१ प्रतिशत सकिएको छ । मनसुनको सक्रियतासँगै प्रदेश नं– १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । “मौसम अनुकूल छ, वर्षा भइरहेको छ, किसानको खेत र बीउ तयार अवस्थामा रहेकोले एक साताभित्रै रोपाइँको प्रतिशत उल्लेखीय वृद्धि हुनेछ”, निर्देशनालयका निमित्त निर्देशक प्रकाश डाँगीले भन्नुभयो । यस प्रदेशमा अहिलेसम्म ३७ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा नभएका क्षेत्रका किसानले कुलोपैनी, वर्षा, बोरिङको भरमा खेती गर्ने गरेका छन् ।

यस प्रदेशमा तीन लाख ४० हजार ८२९ धान लगाउने क्षेत्रफलमा गत वर्ष एक लाख ९३ हजार ३९८ हेक्टरमा धान लगाइएको थियो । समग्रमा गएको वर्षमा यस प्रदेशमा ५६ दशमलव ७४ प्रतिशत रोपाइँ भएको थियो । वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले मनसुनको सक्रियता बढ्दा किसानको अनुहार हसिलो हुने र रोपाइँ पनि समयमै गर्न सकिने भएकोले उत्पादनमा पनि वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

Comment here