जनता टाइम्स

१५ असार २०७७, सोमबार १४:३९

यातायातका कर्मचारी नै नक्कली ब्लुबुक बनाइ चोरीका मोटरसाइकल किनबेचमा संलग्न रहेको खुलासा


कञ्चनपुर, असार १५ । यातायातका कर्मचारी नै नक्कली ब्लुबुक बनाइ चोरीका मोटरसाइकल किनबेचमा संलग्न रहेको पाइएको छ । कञ्चनपुर प्रहरीले यातायात व्यवस्था कार्यालय धनगढीका दुई कर्मचारीसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेपछि यो तथ्य बाहिर आएको हो ।

कञ्चनपुर प्रहरीले नक्कली कागजात बनाएर चोरीका मोटरसाइकल किनबेचमा संलग्न १२ जनाको समुहलाई आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको समुहमा यातायात व्यवस्था कार्यालय धनगढीका कम्प्युटर सहायक अपरेटर जितेन्द्र राना र कार्यालय सहायक गणेश भट्टराई रहेका छन ।

‘मोटरसाइकल चोरी गरेर नक्कली ब्लुबुकलगायतका कागजात बनाएर किनबेच गर्ने गिरोह पक्राउ गर्न सफल भएका छौं, पत्रकार सम्मेलनमा कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) मुकुन्द मरासिनीले भन्नुभयो, ‘उक्त गिरोहमा यातायातका कर्मचारीसमेत नक्कली ब्लुबुक बनाउने काममा संलग्न रहेको पाइयो ।’

सुदूरपश्चिम प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको संयुक्त अप्रेसनबाट १२ जना अभियुक्तसहित आठ थान मोटरसाइकल बरामद गरेको उहाँले जानकारी दिनुभयो । पक्राउ पर्नेमा यातायातका अपरेटर राना, सहायक भट्टराई, कञ्चनपुरको लालझाडी गाउँपालिका ३ का ३५ वर्षीय बहादुर राना, बेदकोट नगरपालिका ६ का ३५ का राजकुमार राना, २५ वर्षीय हरेन्द्र राना, ३० वर्षीय सुबेश राना र लालझाडी गाउँपालिका १ का ४२ वर्षीय रामनिवास राना रहेका छन ।

यसैगरी प्रहरीले शुक्लाफाँटा नगरपालिका १२ का २७ का श्याम राना, बेदकाट नगरपालिका ६ का २८ वर्षीय राम राना लाल राना, बेदकोट नगरपालिका ५ का १८ वर्षीय प्रदिप राना, २७ वर्षीय लक्ष्मी राना र लालझाडी गाउउँपालिका४ का रामदयाल रानालाई पनि पक्राउ गरेको छ । पक्राउ परेकाबाट यातायात व्यवस्था कार्यालय धनगढीका ब्लुबुक र सोहीअनुसार सेतीकै नम्बर प्लेट हालेका मोटरसाइकल बरामद गरिएको छ । उनीहरुलाई सरकारी कागजात किर्ते र चोरी मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको कञ्चनपुरले जनाएको छ ।