जनता टाइम्स

१५ असार २०७७, सोमबार १५:४३

खुल्यो सुस्मिता थापाको हत्याको राज : ३८ लाख र करणी मुख्य कारण


हेटौंडा, असार १५

मकवानपुरमा भएको चर्चित हत्याकाण्ड मध्ये एक हो, सुस्मिता थापा हत्याकाण्ड । असार १ गते हेटौंडा उपमहानगरपालिका–४ मा भएको सो घटनाका अभियुक्तलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

विवाह गरेको ६ महिनामा सिन्दुर पुछिएको उनको थप ६ महिनामा हत्या भएको अवस्थामा शव भेटिएको थियो । प्रहरीका अनुसार उनको हत्यामा घरका चार जनाको संलग्नता देखाएको छ । ससुराको योजनामा घटना घटेलगत्तै परिवारका अन्य तीन महिला सदस्यले पनि साथ दिएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले परिवारकै सदस्यहरु मिलेर बुहारीको हत्या गरेको भन्ने निष्कर्षसहित पत्रकार सम्मेलन गरेर चारै जनालाई सार्वजनिक गरेको छ । प्रहरीले मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा, नन्दहरू २७ वर्षीया दुर्गा र २३ वर्षीया नन्द सीता थापालाई सार्वजजिक गरेको हो ।

हत्या अघि के भएको थियो

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्वर ८ वोर्डगाउँकी २४ बर्षीया सुस्मीता थापा र हेटौडाका शिव भनेर चिनिने रुपेन्द्र थापा बीच विवाह भएको थियो । सुस्मिताका बाबु कृष्ण केसी भारतीय सेनाका अवकास प्राप्त ब्यक्ति हुन । उनका छोरा पनि भारतीय सेनामा कार्यरत छन । एक छोरा र एक मात्र छोरी सुस्मीताको स्नातक सकेर विवाह गराउने रहर त्यो परिवारमा थियो ।

त्यही क्रममा एक जना आफन्तजनले गत बर्ष लगनको महिना बैशाखमा हेटौडाका रुपेन्द्रसंग सुस्मीताको विवाह गराउने प्रस्ताव बाबुसंग राखे । छोरी सुस्मीता दिल्लीमा स्नातक गर्दै थिईन । सुस्मीतालाई केटाको फोटो मगाएर हेर्न पठाईयो । बाबु केसी भन्छन– ज्वाँई ईन्जिनियर हुनुहुन्थ्यो । आमासंग कुरा भए छ केटा त ठीकै छ तर टाढा भयो भन्ने जवाफ दिईछन । त्यसपछि टाढा भएर केही गर्दैन भनेर सम्झाइयो र छोरीको २३ बर्षको उमेरमा २०७६ बैशाख १८ गते भब्य रुपमा मागी विवाह भएको थियो । विवाहपछि सबै राम्रै चल्दै थियो ।

सुस्मीताकी आमा गंगा केसी भन्नुहुन्छ –‘गएको दशैमा ज्वाँई टिका थाप्न आउनु भएको थियो । छोरी यहि थिइन । पल्टनबाट छोरा पनि आएकोले छोरीको विवाहको पहिलो दशै सपरिवार बसेर मनाइयो । टीका थापेर ज्वाई मोटर साइकलमा घर फर्किदै हुनुहुन्थ्यो । असोज २३ गतेका दिन थियो । दाउन्ने पुग्दा ट्रिपरले उहाँको मोटरसाईकललाई हानेर उहाँको ज्यान गएको थियो, छोरी यतै थिइन।’

यसरी विवाहको छ महिना नपुग्दै पति वियोगको पीडा सहेर बसेकी सुस्मीताले स्नातक सकेर दिल्लीमा मास्टर डिग्री गर्न जाँने अन्तिम तयारीमा थिइन । त्यही बेलामा लकडाउन सुरु भयो । उता ज्वाँईको छ मासिक गर्न जान्छु भनिन छोरीले त्यसपछि बुवाले प्रशासनमा पुगेर गाडीको पास बनाएर चैत्र २१ गते हेटौडा घरमा छाड्न जानु भएको थियो, यसरी सुस्मीताकी आमा पीडा सुनाउँछिन । बाबु केसी भन्छन, ‘मैले सम्धीलाई बीचमा फोन गरेर पठाइदिनु प¥यो भनेको पनि हुँ , वीमा कम्पनीको कागज पत्रमा साईन गर्न छ भन्दै हुनुहुन्थ्यो । छोरीले पनि ती कागजपत्र मिलाएर आउँला भन्दै थिइन । यता उनी दिल्ली हिड्न तयार पारिएको कपडालत्ता त्यत्ति कै छन ।

यसरी भयो हत्या !

असार १ गते राति करिब ९ बजे ससुरा प्रकाश र सासू तुलसाकुमारी खाना खाएर सुत्ने कोठातर्फ गएको थिए । ससुराले त्यो रात मादक पदार्थ सेवन गरेर खाना खाई सुत्न गएका थिए । त्यो दिन नन्दले खाना बनाएकी थिइन् । सासु ससुरा सुत्न गएपछि भान्छाकोठामा सुस्मिता र नन्द सीता खाना खाइरहेका थिए । सुस्मिता महिनावरी भएको कारण भुईँमा बसेर खाना खाइरहेका थिए । त्यही बेला एक्कासी प्रकाश काठको लौरो बोकेर आए र सुस्मिताको टाउकोमा पछाडिबाट हिर्काए ।

खाना खाँदै गर्दा ससुराले पछाडी हिर्काएपछि उनि भुँईमा लड्नि । त्यसपछि उनले चिच्याउन थालिन् । सँगै खाना खाईरहेकी नन्द सीताले पनि नजिकै रहेको लोहोरोले उनको टाउकोमा हिर्काईन । त्यसक्रममा सासू तुलासा भान्छाकोठातिर आएकी थिइन् । तर बाबुछोरीले अर्को कोठामा जान भने । त्यही क्रममा सुस्मिताको मृत्य भयो ।

त्यसपछि बाबुछोरी मिलेर सुस्मिताको हत्यालाई आत्महत्या जस्तो बनाउने प्रयासमा गर्छन् । भुईँमा लागेको रगत सफा गर्छन्, विग्रिएका सामानहरु पुर्ववत रुपमा राख्छन् । त्यसपछि नन्द सीतालाई ढोकाबाट बाहिर जान लगाएर ससुराले भित्रबाट चुकुल लगाएर आल्मुनियमको झ्यालबाट बाहिर निस्किन्छन् । त्यसक्रममा उनिहरुको कपडामा लागेको रगत पखाल्छन् र नुहाउछन् । सो रात त्यत्तिकै छाडेर भोलिपल्ट ससुरा प्रकाशले बुहारीले आत्महत्या गरेको भन्दै गाउँलेलाई बोलाएपछि घटना प्रहरीसम्म पुगेको थियो ।

हत्याको कारण बलात्कार प्रयास र ३८ लाख

थापाको क्रूरतापूर्वक हत्या हुनुमा दुईवटा कारण देखिन आएको छ । मृतक सुस्मिताको ससुरा प्रकाश थापाले जबरजस्ती करणी प्रयास र सुस्मिताको मृत्युपछि उनको पति र उनको नाममा आउने बिमाको रकमको कारण हत्या भएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

मृतक सुस्मिताको पति रुपेन्द्रको २०७६ साल असोज २६ गते ससुरालीबाट फर्कने क्रममा मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि बुहारीलाई उसकै कारण मृत्यु भएको भन्दै आरोप लगाउँदै आएको थियो । थापा परिवारले निरन्तर मानसिक तनाव मात्रै नभई ससुरा प्रकाश थापाबाट मृतक सुस्मीता क्षेत्री थापालाई बाथरुममा जबरजस्ती करणीको उद्योग गरेको समेत गरेको प्रहरीले देखाएको छ ।

प्रहरीले मृतक सुस्मिताको श्रीमान रुपेन्द्रको सवारी दुर्घटनाको मृत्युपश्चात पाउने क्षतिपूर्तिबापतको रकम पाँच लाख सुस्मिताले प्राप्त गरेको र घर पक्षले हामीले पाउनुपर्छ भनेर विवाद सृजना गरेकोलाई नि हत्याको कारण हुनसक्ने देखाएको छ । मृतक सुस्मिताको श्रीमान रुपेन्द्रले क्लोजर सिस्टम इन्टरनेशनल नेपालबाट पाउने विमा, बोनस र तलब बापतको ३८ लाख २८ हजार रकम हकवालको विवादको कारण हालसम्म प्राप्त नगरेको पनि कारण देखाएको छ ।