जनता टाइम्स

१५ असार २०७७, सोमबार १८:१९

अव यसरी आउन सक्छन सर्वसाधरण काठमाडौं


काठमाडौं, असार १५ । कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले सर्तसहित काठमाडौं उपत्यका भित्रिन दिने निर्णय गरेको छ । आज बसेको सिसिएमसी बैठकले उपत्यकामा अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई उपत्यका भित्रिन दिने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आएमा होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतासहित उपत्यका भित्रिन दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार १४ दिन होम क्वारेन्टाइनमा बस्ने गरी स्थानीय तह र प्रहरीको सिफारिस लिएर आउन दिने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । हवाई तथा स्थलमार्गबाट आउने सबैमा सो निर्णय लागु हुने गुरागाईंले जानकारी दिनुभयो ।

सिसिएमसीले क्वारेन्टाइनहरुमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति पनि अनिवार्य गर्ने निर्णय गरेको छ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको सचिव गुरागाईले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरुका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ ।

यस्तै, विमानस्थलका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रतिव्यक्ति दुई जोरका दरले वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।बैठकले आमा र बच्चा नेपाली नागरिकताधारी र बुबा विदेशी पासपोर्ट भएकाहरुको भिसा सहजीकरणका लागि निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।