जनता टाइम्स

१५ असार २०७७, सोमबार १८:४२

राष्ट्रपति भण्डारीले गर्नुभयो यी पाँच बिद्येयक प्रमाणीकरण


काठमाडौं, असार १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज आर्थिक वर्ष २०७७÷७८ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

यसैगरी उहाँले राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७ लाई प्रतिस्थापन गर्न बनेको विधेयक पनि आजै प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयक नेपालको संविधानको धारा १३३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको बिज्ञप्तीमा जनाइएको छ ।