जनता टाइम्स

१५ असार २०७७, सोमबार १९:३३

समातिए राष्ट्रपति र प्रधानमन्त्रीलाई आपत्तिजनक गालीगलौज गर्ने कांग्रेस नेता


काठमाडौं, असार १५ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध सामाजिक सञ्जालमा अश्लिल गाली गलौज गर्ने ब्यक्ति पक्राउ परेका छन । राष्ट्रपति र प्रधानमन्त्रीबिरुद्ध छाडा गाली गरेको अभियोगमा कास्की जिल्लाको पुरञ्चौर निवासी दुर्तादत्त बाँस्तोलालाई प्रहरीले आज पक्राउ गरेको हो ।

बाँस्तोलालाई पक्राउ गरी कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । बास्तोलालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कास्कीको टोली सोमबार अपरान्ह पुरञ्चौर स्थित उनकै निवासमा गएको थियो । उनीबिरुद्ध विद्युतीय कारोबार ऐन (साइबर क्राइम) अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

पोखराका तीन युवाहरु शिवप्रसाद अधिकारी, सम्पन्न श्रेष्ठ र सुष्मी श्रेष्ठले सम्माननीय व्यक्तिहरु माथि ज्यादै निच शब्द र कल्पनै गर्न नसकिने घृणाजन्य टिप्पणी सामाजिक सञ्जालमा गरेको भन्दै प्रहरीमा जाहेरी दिनुभएको थियो । सोही जाहेरीका आधारमा बाँस्तोलालाई साइबर क्राइम गरेको अभियोगमा मुद्दा दर्ता भएको हो । बाँस्तोला नेपाली कांग्रेस सकृय कार्यकर्ता तथा स्थानीय नेता हुन ।

उनी साविकको पुरञ्चौर गाउ विकास समितिका कांग्रेसका सभापति थिए भने महानगरको वडा नम्बर १९ भइसकेपछि उपसभापतिको जिम्मेवारी पाएका थिए । गत स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाको वडा नम्बर १९ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बनेका उनी पराजित भएका थिए । पछिल्लो समयमा बास्तोलाले सामाजिक सञ्जालमा देशका राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध पटकपटक अश्लिल शब्द प्रयोग गरेर स्टाटस लेख्दै आएका थिए ।