जनता टाइम्स

१७ असार २०७७, बुधबार १२:५५

नेकपाको स्थायी कमिटी बैठक : शीर्षसहित पदलोलुप नेता बाझाबाझमा, बाँकी नेता एकताकै पक्षमा


काठमाडौं, असार १७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बुधबारको बैठक सकिएको छ । प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजिनामाको विषय उठेपछि आजको बैठकमा पाँच जना नेताले आ–आफ्नो धारणा राख्नु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक पाँच जना नेताले बोलेपछि स्थगित गरिएको छ । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको र संसदमा शोक प्रस्ताव पारित गर्नुपर्ने भएकले बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठक भोली विहान पुन बोलाइएको छ । बुधबारको बैठकमा नन्दकुमार प्रसाई, लिलामणी पोखरेल, मातृका यादव, पेशल खतिवडा र योगेश भट्टराईले धारणा राख्नु भएको थियो ।

यसैबीच, नेकपामा देखिएको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय हुनु भएको छ । सचिवालयका शिर्ष नेता बाझबाझको अवस्थामा पुगेपनि अन्य नेताले एकताबाट भाग्न नपाउने भन्दै दवाव सिर्जना गर्न थालेका छन् । उनिहरुले स्थायी कमिटी बैठक स्थगित गरेर नेताहरुबीच सम्बाद थाल्न दवाव दिएका छन् । उनिहरुले जनमतको कदर गर्दै इतिहासमा आफुलाई कलंकित नबनाउन शिर्ष नेताहरुसँग आग्रह गरेका छन् ।

त्यसै क्रममा बैठक अघि दुई अध्यक्षबीच पनि बालुवाटारमा केही समय छलफल भएको छ । विहान ११ बजेदेखि बैठकको समय निर्धारण भएको भए पनि दुई अध्यक्षबीचको परामर्शले केही समय ढिला गरी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको थियो । स्थायी कमिटी बैठकअघि अध्यक्ष प्रचण्ड बालुवाटारमा पुगेर अर्का अध्यक्ष ओलीसँग परामर्श गर्नुभएको प्रचण्डकाका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।