जनता टाइम्स

१७ असार २०७७, बुधबार १९:३५

कोरोनापीडित दलितमाथि राहत वितरणमा विभेद गर्नेलाई कडा कार्वाही हुन्छ : मन्त्री गुरुङ


काठमाडौं, असार १७ । महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री पार्वत गुरुङले कोरोना भाईरस पीडित दलित समूदायलाई राहत वितरण गर्ने काममा विभेद गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिनुभएको छ ।

मन्त्री गुरुङले राहत, सुरक्षा सामग्री वितरणलगायतको काममा कँहीकतै विभेद गरिएको सूचना पाए तत्काल आफूलाई जानकारी गराउन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गर्नु भयो । ‘एशिया दलित अधिकार फोरम’द्धारा आज ललितपुरमा आयोजित ‘अर्चुअल’ बैठकमा बोल्दै उहाँले कोरोना भाईरसको महामारीबाट पीडितलाई राहत दिने, सुरक्षालगायतका सामग्रीहरुको व्यवस्थापन गर्ने काममा विभेद नहोस भन्नेमा सरकार सचेत रहेको पनि स्पष्ट पार्नु भयो । ‘कँहीकतै त्यस्तो विभेद गरेको प्रमाणित भए सरकारले कडा कार्वाही गर्ने’ मन्त्री गुरुङको प्रतिवद्धता छ ।

मन्त्री गुरुङले दलित मुक्ति आन्दोलनलाई सफल बनाउन सामाजिक अभियान नै संचालन गर्नुपर्ने भन्दै त्यसमा साथ दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गर्नु भयो । उहाँले दलितहरुलाई सामाजिक, आर्थिक उत्पीडनबाट मुक्त गराउन सरकारले ‘उद्यमशीलता र उत्पादन’ को काममा सहभागी गराउने नीति तथा कार्यक्रम अघि बढाएको पनि स्मरण गराउनु भयो ।

दलितहरुलाई विभेद हुनबाट जोगाउन शिक्षा, चेतना र सोचमा परिवर्तन गर्नुपर्ने मन्त्री गुरुङको निष्कर्ष छ । बैठकमा दलित अधिकारकर्मीहरुले कोरोना भाईरसबाट पीडित दलितहरुमाथि राहत वितरणमा समेत विभेद हुने गरेको गुनासो गरेका थिए ।