जनता टाइम्स

१८ असार २०७७, बिहीबार ११:५५

जव प्रचण्डले एक-एक नेतासँग यस्तो प्रश्न सोधे


सवैले आफ्नो कुरा राख्यौं, अन्तिममा अध्यक्ष प्रचण्डले वारपार गरेर बहुमतका आधारमा जाने कि बिगतको सहमतिअनुसार पार्टी चलाउने भन्ने प्रश्न राख्नुभयो, सहभागी सवैले दुई अध्यक्षबीच हुने सहमति र अध्यक्ष ओलीसँग प्रचण्ड कमरेडले सहमति गरे मान्य हुने जवाफ दियौं, अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीचको सहमतिकै आधारमा जाने निर्णय सुनाउनु भयो

काठमाडौं, असार १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिवाद समाधान उन्मुख देखिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पद छाडनुपर्ने भन्दै आयोजना गरिएको भेलामा दुई अध्यक्षको सहमति आफुहरुलाई मान्य हुने निश्कर्षका साथ सम्पन्न भएपछि बिवाद समाधानउन्मुख देखिएको नेकपाका एक नेताले जनताटाइम्सलाई जानकारी दिए ।

ती नेताका अनुसार ३० जना स्थायी समिति सदस्य रहेको सो भेलामा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अन्तिम निश्कर्षका रुपमा एक एक सदस्यलाई प्रश्न गरेपछि सवै नेताहरुले अध्यक्षद्वय ओली र प्रचण्डबीच हुने सहमतिलाई आफूहरुले मान्ने बताउनु भएको छ । ‘सवैले आफ्नो कुरा राख्यौं, अन्तिममा अध्यक्ष प्रचण्डले वारपार गरेर बहुमतका आधारमा जाने कि बिगतको सहमतिअनुसार पार्टी चलाउने भन्ने प्रश्न राख्नुभयो, सहभागी सवैले दुई अध्यक्षबीच हुने सहमति र अध्यक्ष ओलीसँग प्रचण्ड कमरेडले सहमति गरे मान्य हुने जवाफ दियौं, अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीचको सहमतिकै आधारमा जाने निर्णय सुनाउनु भयो,’ ती नेताले जनताटाइम्ससँग भने, बाहिर आएका कुरा आफ्नो पोजिशन हुन, दुई अध्यक्षबीचको सहमतिअनुसार नै पार्टी चलाउने पुरानै अवस्थामा पुगेको छ ।’

तात्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई नेकपा घोषणा गर्दा नै २०७५ जेठ २ गते दुई अध्यक्षको हस्ताक्षरपछि मात्रै पार्टीको आधिकारिक निर्णय हुने ब्यवस्था गरिएको थियो ।

‘एकता महाधिवेशन नहुँदासम्म पार्टीका सम्पुर्ण निर्णयहरु बिधिसम्मत र कमिटीवद्ध छलफलका आधारमा लिने तथा दुवै अध्यक्षको सहमति र हस्ताक्षरपश्चात निर्णयको आधिकारिकता मानिने,’ पार्टी एकताको घोषणा गर्ने अघिल्लो दिन अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको सहमतिमा भनिएको छ । सो सहमतिमा तात्कालिन माओवादी र एमालेका नेताद्वय तथा हालका महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्माले पनि हस्ताक्षर गर्नुभएको छ । सोही सहमतिअनुसार २०७५ जेठ ३ गते पार्टी एकता भएको थियो । ललितपुरको एक होटलमा बुधवार भएको भेलामा पनि अध्यक्ष प्रचण्डले सोही म्याण्डेट लिनुभएको छ ।

ललितपुरको भेलामा दुई अध्यक्षबीच सहमति हुँदा मान्य हुने सवैले स्वीकार गरेपछि अव ओली र प्रचण्डबीचको छलफल र सहमति नै सवैको सहमति हुनेछ, ती नेताले भने । सो भेलापछि अध्यक्ष प्रचण्डले आज आफ्नै निवासमा अध्यक्ष ओलीनिकट रहेका स्थायी कमिटीका नेताहरुसँग छलफल गर्नुभएको छ । एकता गर्दाको सहमति तोडेर अघि बढदा पार्टी बिभाजन हुने र आफैमाथि गम्भीर आरोप लाग्ने देखेपछि अध्यक्ष प्रचण्डले बिगतको सहमतिअनुसार अघि बढने योजनासहित यस्तो बाटो लिनुभएको ती नेताको भनाई छ । ललितपुर भेलामा बरिष्ठ नेता माधवकुमार नेपाल, भलनाथ खनाल, बामदेव गौतम, रामबहादर थापा, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु हुनुहुन्थ्यो ।

भेलाको अन्तिममा प्रचण्डले प्रश्न गरेपछि उहाँहरु सवैका सामू अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग जे सहमति गरेपनि आफूहरुलाई स्वीकार्य हुने जवाफ दिनुभएको हो ।