जनता टाइम्स

१८ असार २०७७, बिहीबार ११:३५

दुई अध्यक्ष मिलेर सहमति गर्न स्थायी कमिटी सदस्यको प्रचण्डलाई सुझाव


काठमाडौं, असार १८

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यहरुले पार्टीमा देखिएको विवाद दुई अध्यक्षले आपसी छलफलबाट टुंगो लगाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन् । उनिहरुले पार्टी एकतालाई जोगाउन दुई अध्यक्ष मिल्नुको विकल्प नभएको भन्दै आपसी छलफललाई तिव्रता दिन आग्रह गरेका छन् ।

पार्टीभित्र देखिएको पछिल्लो विवादका विषयमा छलफल गर्न अध्यक्ष प्रचण्ड र ओली निकट मानिएका स्थायी कमिटी सदस्यहरुबीच आज विहान खुमलटारमा छलफल भएको थियो । करिव दुई घण्टासम्म चलेको छलफलमा नेताहरुले पार्टी एकतालाई भंग हुनबाट दुवै अध्यक्षले बचाउनुपर्ने सुझाव दिएका हुन् । ‘दुई अध्यक्ष मिलेर अघि बढ्नुको अर्को कुनै विकल्प नै छैन’, छलफलमा सहभागी एक सदस्यले भन्नुभयो,‘दुवै अध्यक्ष सहमतिबाट पर पर भाग्ने हो भने पार्टी संकटमा फस्छ, त्यसैले दुई अध्यक्षले सम्बाद थालेर समस्या समधान गर्नुपर्छ भन्ने सुझाव दियौं ।’

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गराउने महत्वपूर्ण भूमिका निभाउनु भएका नेता जनार्दन शर्माले पनि पार्टी बचाउनका लागि थप छलफल गर्नुपर्ने आवश्यक देखिएको बताउनु भयो । ‘नेताहरुबीच पार्टीमा देखिएको समस्याका विषयमा आज छलफल भयो । सबैको पार्टी एकता कसरी बचाउने भन्नेमा चिन्ता व्यक्त भयो । यसका लागि थप छलफल गर्न आवश्यक पनि देखियो’, छलफलपछि स्थायी समिति सदस्य शर्माले भन्नुभयो ।

छलफलमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवासचन्द्र नेम्वाग, विष्णु पौडेल, विष्णु रिमाल, शंकर पोखरेल, योगेश भट्टराई, जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, हरिवोल गजुरेल र सुरेन्द्र पाण्डे सहभागी हुनुहुन्थ्यो ।