जनता टाइम्स

१८ असार २०७७, बिहीबार १४:४५

चार महिनापछि सरकारले खुल्ला गर्‍यो वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति


काठमाडौं, असार १८

आजबाट वैदेशिक रोजगारको लागि पुनः श्रम स्वीकृत खुल्ला भएको छ । वैदेशिक रोजगारीमा गएर अवधि पूरा भएपछि स्वदेश फर्किएकालाई फेरि सोही कम्पनीमा जानेहरु नेपाली कामदमरको लागि आजबाट पुनः श्रम स्वकिृति खुल्ला भएको हो । विश्वभर फैलिएको कोरोना भाइरसको माहामारीले विगत लामो समयबाट ठप्प भएको श्रम स्वीकृति आजदेखि खुल्ला भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका अनुसार पहिलो चरणमा पुनः श्रम स्वीकृति मात्रै दिन सुरु गरिएको हो । प्राप्त जानकारी अनुसार सिसिएमसीको निर्णयलाई लिएर मन्त्रालयले तत्कालको लागि पुनः श्रम स्वीकृति दिन निर्देशन दिएको जनाइएको छ । अहिले कतिपय देशमा लकडाउन नभइ विभिन्न उद्योगहरु सञ्चालन भइरहेको कारण पहिला पनि विदेश गएर स्वदेश फर्किएका नेपाली कामदमरहरुलाई पुनः श्रम स्वीकृति दिन सुरु गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

यस्तै, विभागका अनुसार स्वास्थ्य प्रोटोकलको मापदण्ड अनुसार सेवाग्राहीको लागि लाईन बस्न २–२ मिटरको दुरी कायम हुनेगरी चिन्हसमेत लगाइएको छ । काठमाडौं कार्यालय हातामा प्रवेश गर्दा सबैले मास्क अनिवार्य लगाउनुपर्ने छ । यस्तै, कोरोना संकट सीसीएमसीको गत असार ७ गते बसेको वैठकले श्रम स्वीकृति खुला गर्न श्रम मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको थियो । तर, श्रम मन्त्रालयले भने तत्कालको लागि पुनः श्रम स्वीकृति मात्रै दिन लागेको हो ।