जनता टाइम्स

१८ असार २०७७, बिहीबार २०:५७

भारतसँगको सीमा क्षेत्रमा सुरक्षा बढाउँदै सरकार : दार्चुलामा एकैदिन सशस्त्रको तीन चौकी स्थापना


दार्चुला, असार १८ । दार्चुलाको नेपाल—भारत सीमावर्ती क्षेत्रमा एकै दिन सशस्त्र प्रहरीको तीनवटा सीमा सुरक्षा चौकी (बीओपी) स्थानिा भएको छ । सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख रहनुभएका वैद्यनाथ बाहिनीपति डिआइजी हरिशङ्कर बुढाथोकीले आज लेकम गाउँपालिका-३ लाली, मालिकार्जुन गाउँपालिका—७ जोलजिबी र व्यास गाउँपालिका-२ दुम्लिङमा स्थापना भएका बीओपीको उद्घाटन गर्नुभएको हो ।

बुधबार बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको बीओपी उद्घाटन गरेर दार्चुला आइपुग्नुभएका डिआइजी बुढाथोकीले आजतीन वटै बीओपीको उद्घाटन गर्नुभएको सशस्त्र प्रहरी बल नेपाल गुल्म नम्बर ५० हेडक्वार्टर दार्चुलाका डिएसपी डम्बरबहादुर विष्टले जानकारी दिनुभयो । डिआइजी बुढाथोकी जोलजिबी र लालीमा बीओपी स्थलमा पुग्नुभएको थियो भने दुम्लिङमा भिडियो कन्फ्रेन्समार्फत बीओपी उद्घाटन गरिएको थियो ।

तीन वटै बीओपीमा २०/२० जना सुरक्षाकर्मी खटाइएको छ । तत्काल बीओपीको नेतृत्व सशस्त्र प्रहरी नायब निरीक्षकलाई दिइएको छ । केही समयपछि सशस्त्र प्रहरी निरीक्षकले नै बीओपीको नेतृत्व गर्ने सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ । भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्र नजिकको व्यासको छाङरुमा गत वैशाख ३१ गते बीओपी स्थापना गरिएको थियो ।

दोस्रो चरणमा अतिक्रमित भूमि कालापानी नजिकको कौवाक्षेत्र, महाकाली नगरपालिका—९ दत्तु, व्यास गाउँपालिका-३ सुनसेरा र व्यास गाउँपालिका-१ चीन सीमा नजिकको तिङ्कर लगायत विभिन्न स्थानमा बीओपी थप्ने सरकारको योजना छ । जिल्ला सुरक्षा समितिले उक्त चारवटै स्थानमा बीओपी थप्न सिफारिस गरिसकेपनि गृह मन्त्रालयले निर्णय गर्न बाँकी रहेको छ।

बीओपी उद्घाटन गर्दै डिआइजी बुढाथोकीले स्थानीय नागरिक र भारतीय सुरक्षाकर्मीसँग समेत समन्वय गरी सीमा गस्ती र सीमा सुरक्षा निगरानी गरिने बताउनुभयो । छाङरुस्थित बीओपीबाट सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको नेतृत्वमा सुरक्षाकर्मी नेपाल—चीन एक नम्बर सीमा स्तम्भ, कौवा क्षेत्र र तिङ्करमा समेत नियमित गस्ती गरिरहेको छ ।