जनता टाइम्स

१९ असार २०७७, शुक्रबार १७:२९

किन थर्काए देउवाले ? ‘बढ्ता जान्ने हुने, लाज पनि छैन ? जहाँ पनि हार्‍या हार्‍यै छ, कहाँ छ नेविसंघ ?’


काठमाडौं, असार १९

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषण मात्र गर्दै हिंडेको भन्दै भ्रातृ संगठन नेवि संघका नेताहरुलाई सार्वजनिक कार्यक्रममै थर्काउनुभएको छ । पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीको अवसरमा नेविसंघले शुक्रबार शान्तिबाटिकामा राखेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले विद्यार्थी नेतालाई सार्वजनिक रुपमै थर्काउनुभएको हो ।

उहाँले गाउँ–गाउँमा गएर नेविसंघको संगठन विस्तार गर्न समेत निर्देशन दिनुभएको छ । सभापति देउवाले नेविसंघको संगठन राम्रो नभएसम्म पार्टी बलियो नहुने भएकाले संगठन विस्तारमा लाग्न निर्देशन दिनुभएको हो । उहाँले नेविसंघलाई गाउँ–गाउँ र स्कुल, कलेजमा बलियो बनाएर निर्वाचन जित्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘जहाँ पनि हार्याहार्यै छ सबै ठाउँमा। कम्युनिष्टले कसरी जिते यहाँ । अलिकति लाज पनि छैन ।’

कोरोना महामारीका बेला सामाजिक दूरी कायम नगरेर टाँसिएर बसेको भन्दै देउवाले नेविसंघका नेताहरुलाई गाली गर्नुभएको थियो । उहाँले थप्नुभयो,‘सोसल डिस्ट्यान्स भनेको छ, टाँसिएर बसेको छ। यस्तो महामारीमा अरुले कार्यक्रम गर्न छोडेका छन्। हामीले गर्नु पर्ने, बढ्ता जान्ने हुनु पर्ने, लाज पनि छैन।’ देउवाले आफू नेविसंघको सभापति भएर चार पटक प्रधानमन्त्री भइसकेको र यस्तै भए अब कोही पनि नेविसंघका नेताहरु नेता बन्न नसक्ने बताउनुभयो ।

‘म नेविसंघको सभापति भएको मान्छे चार पटक प्रधानमन्त्री भइसके। तपाईंहरु कोही हुनसक्नुहुन्छ भोलि यस्तै हिसाबले ? लाज पनि छैन,’ उहाँले भन्नुभयो । देउवाले नेविसंघ, तरुण दल लगायतका संगठनले छिट्टै पूर्णता पाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही समस्या छ। त्यसपछि सबै काम हुन्छ । तपाईंहरु संगठन विस्तारमा लाग्नुस्।’