जनता टाइम्स

२१ असार २०७७, आईतवार ११:५७

छाङरुमा फोरजी सेवा विस्तार गर्दै नेपाल टेलिकम


दार्चुला, असार २१

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी क्षेत्र नजिक व्यास गाउँपालिका–१, छाङरुमा नेपाल टेलिकमले फोरजी सेवा विस्तार थालेको छ । हालसम्म सञ्चारविहीन रहेको व्यास क्षेत्रमा टेलिकमले फोरजी सेवा सञ्चालनका लागि नयाँ टावर जडानको टेन्डर गरिसकेको छ । छाङरुमा फोरजी सेवा विस्तारका लागि जीएसएम (नमस्ते) मोबाइलको टावर बनाउन हुवेइ कम्पनीले ठेक्का पाएको छ ।

छाङरु गाउँ नजिकैको ज्याक्ति भन्ने स्थानमा ३५ मिटर लामो टावर बनाएर दुहुँ र व्यास गाउँपालिकाको सीमा क्षेत्र रहेको ब्रह्मलेकबाट व्यासको टावरलाई लिङ्क दिइने टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिनुभयो । टावर निर्माणको ठेक्का सम्झौता भइसकेको भए पनि बन्दाबन्दीका कारण सामान ढुवानीमा केही ढिलाइ भएको टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताउनुभयो ।

सामान ढुवानी भएको एक महिनाभित्र फोरजी सेवा सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । व्यासमा नयाँ टावर जडान गरी फोरजी सेवा सञ्चालनका लागि व्यास गाउँपालिका–१ ले भवन निर्माण गरिरहेको छ । छाङरुमा टावर सञ्चालन भएपछि तिङ्करमा स्काई मोबाइलको टावर राख्ने योजना छ । हाल छाङरुमा रहेको स्काई मोबाइल टावरलाई तिङ्कर सारिने टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताउनुभयो ।

छाङरुमा राखिने नमस्ते फोरजी टावरले तिङ्कर गाँउसम्म कभरेज नपुग्ने भएकोले तिङ्करका लागि छुट्टै टावर राखिने उहाँको भनाइ छ ।