जनता टाइम्स

२१ असार २०७७, आईतवार १४:०२

कामबाटै परिणममा ओली सरकार अर्को सफलताको नजिक : मेलम्चीको सुरुङमा हालियो पानी


काठमाडौं, असार २१

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ । आज बिहान करिब नौ बजेतिर मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ ।

काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो । हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौंको सुन्दरीजलसम्म २६ किलोमिटर सुरूङ मेलम्ची खानेपानी आयोजनाको लागि तयार गरिएको छ। पुरै सुरूङ भर्नका लागि २० दिन लाग्नेछ । मेलम्चीको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको आयोजनाका कार्यकारी निर्देशक रितेशप्रसाद खत्रीको भनाइ छ । यसबारे विस्तृतमा अपराह्न मन्त्रालयमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइने बताइएको छ ।

सुरूङमा पानी भित्र्याउनको लागि स्थायी डाइभर्सन निर्माणको काम भने धमाधम भइरहेको छ। वर्षायाम अगाडि नै स्थायी डाइभर्सन बनाइसक्ने आयोजनाको लक्ष्य भए पनि चैत ११ गतेबाट भएको लकडाउनको कारण खानेपानी आयोजनाको काम प्रभावित भएको थियो। सरकारले आगामी आर्थिक वर्ष २०७७-०७८ को पहिलो महिनाबाटै काठमाडौंमा पानी वितरण गर्ने भनेको छ।