जनता टाइम्स

२२ असार २०७७, सोमबार ०९:४७

नेकपा स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित, यस्तो छ कारण


काठमाडौं, असार २२

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक पुन स्थगित भएको छ । शिर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले आज विहान बोलाइएको बैठक पनि स्थगित भएको हो ।

नेकपाका प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सहमतिका लागि नेताहरुबीच छलफल जारी रहेकाले बैठक बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिनुभयो । दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल आइतवारदेखी सकरात्मक परिणाम ल्याउने गरी छलफलमा जुटेकाले बैठक स्थगित गरेर सहमति कायम गराउने तयारी भएको छ ।

नेताहरुका अनुसार सहमतिका विभिन्न मोडलमा छलफल भईरहेका छन् । पार्टी एकतालाई मुल मर्म मानेर दुवै पक्ष छलफलमा जुटेकाले सहमति बन्न सक्ने नेताहरुले बताउनु भएको छ । विशेषगरी नेता तथा कार्यकर्ताले एकता गर्न देशभरीबाटै चर्को दवाब दिएका छन् ।

असार १० गतेबाट शुरु भएको बैठकमा एकाएक प्रधानमन्त्री र अध्यक्षबाट राजिनामा दिनुपर्ने एजेण्डा आएपछि विवाद सिर्जना भएको छ । सोही विवादका कारण नेकपा फुट्ने हो कि भन्ने चिन्ता नेता कार्यकर्तामा व्याप्त रहेको छ ।