जनता टाइम्स

२२ असार २०७७, सोमबार ११:५४

नेकपा विवाद : ओली–प्रचण्डको ‘वान टू वान’ वार्ता सकियो, यसरी हुँदैछ समाधानको प्रयास


काठमाडौं, असार २२

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानतर्फ उन्मुख देखिएको छ । नेता कार्यकर्ताको चर्को दवावपछि एकतालाई टिकाई राख्न शिर्ष नेताहरु लचक रुपमा प्रस्तुत हुन थालेपछि समाधानतर्फ उन्मुख देखिएको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहानैबाट दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल चलेको छ । दुई नेताबीच आइतवार पनि करिव डेढ घण्टा वार्ता चलेको थियो । वार्तामा रहेका नेताहरुले दुई अध्यक्षबीच कति विषय सहमति नजिक पुग्न सकिन्छ भनेर खाका बनाएका थिए । दुवै पक्षका आ–आफ्ना अडानमा सहमतिको विन्दु कहा भेटिन्छ भनेर महासचिव विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनबीच छलफल भएको थियो ।

चारै नेताले दुवै अध्यक्षका अडानका बीचमा सहमतिको विन्दु बनाएर एजेण्डा बनाएका थिए । सोही एजेण्डा र कसरी सहमति गरेर अगाडी बढ्ने भन्ने विषयमा सोमबारको बैठकमा छलफल भएको बताइएको छ । ओली–प्रचण्डबीच लामो समयपछि बालुवाटारमा आज विहान ‘वान टू वान’ वार्ता भएको हो । वार्ता निक्कै सकरात्मक भएको नेताहरुले प्रतिक्रिया दिनु भएको छ ।

स्रोतका अनुसार शिर्ष नेताहरुलाई पार्टीभित्र कसरी व्यवस्थापन वा जिम्मेवारी दिन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत भएको छ । सबै नेतालाई सम्मान प्रदान गर्ने, सरकार र पार्टीलाई सबै नेताले अपनत्व बनाउने गरी कसरी परिचालन गर्न सकिन्छ भनेर विषयहरु उठिरहेका छन् । तर, ती विषय मिलाउने जिम्मा दुई अध्यक्षलाई नै छाडिएको छ ।

दुवै अध्यक्ष घनिभूत छलफलमा जुट्नु पर्ने भएकाले आजका लागि बोलाइएको स्थायी कमिटीको बैठक बुधबार विहानसम्मका लागि स्थगित भएको छ । मंगलबारसम्म सहमति जुटे बुधबारको बैठकले पार्टीलाई थप एकताबद्ध बनाएर लैजाने नेताहरुले बताएका छन् ।