जनता टाइम्स

२२ असार २०७७, सोमबार १२:४०

पाँच महिनापछि उत्तरी नाका रसुवागढी सञ्चालनमा


रसुवा, असार २२

उत्तरी छिमेकी मुलुक चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी आजदेखि संचालनमा आएको छ । पाँच महीनायता बन्द रहेको सो नाका सोमबारदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको हो । कोरोनाभाइरस महामारीका कारण औपचारिक रुपमा १५ माघदेखि नाका बन्द गरिएको थियो ।

यसअघि नै नाका खोल्ने सहमति भए पनि चिनियाँ पक्षले बिहीबारदेखि सामग्री लोड गर्न थालेका हुन् । मितेरी पुलसम्म चिनियाँ पक्षले नै सामग्री ल्याएको छ । सामग्री बोकेका चार वटा चिनियाँ गाडी जाँचपासको प्रक्रिया पूरा गरेर आज विहान रसुवागढी नाका आइपुगेका रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पूण्यबिक्रम खड्काले बताउनुभयो । ती सामग्री लिन नेपालतर्फका ८ वटा गाडी नाकामा पुगेका छन् ।

चिनियाँ एउटा गाडीको सामग्री नेपालतर्फका दूईवटा गाडीमा लोड हुन्छ । दैनिक चार कन्टेनर सामान चीनबाट नेपालतर्फ ल्याउन द्विपक्षीय समझदारी भएको छ । यद्यपि, नेपालबाट चीनतर्फ सामान निर्यात भने खुलेको छैन । आवतजावत र निर्यात कहिले खुल्ने हो भन्ने अझै टुङ्गो छैन ।