जनता टाइम्स

२३ असार २०७७, मंगलवार २२:५८

सरिता गिरीको बचाउमा उत्रिन मानवअधिकार आयोगकी सदस्य अन्सारी


काठमाडौं, असार २३

राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी नेपालको नक्सा विरोधी अभियानमा रहेकी सरिता गिरीको कारवाहीको विपक्षमा उभिनु भएको छ । उहाले गिरीको पक्षमा आफ्नो मत राख्नु भएको हो ।

नयाँ राजनीतिक एवं प्रशासनिक नक्सा जारी गरेदेखि नै असन्तुष्ट जनाउँदै आएकी गिरीले सोही नक्सालाई संविधानको अनुसूचीमा समेट्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको विरुद्धमा उभिएको तथा पक्षमा मतदान गर्न पार्टीको ह्विप अस्विकार गरेपछि कारवाहीमा परेकी छन् । समाजवादी पार्टीले सांसद सरिता गिरीमाथि सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरेपछि आयोगकी सदस्य अन्सारी असन्तुष्ट हुनु भएको हो ।

आयोगकी सदस्य अन्सारीले गिरीलाई कारवाही नगर्न आग्रह गर्नुभएको छ । पार्टीले कारवाही गरेको समाचार बाहिर आउने वित्तिकै उहाले मंगलबार आफ्नो ट्वीटरमा लेख्नु भएको छ, ‘मा.सरिता गिरीलाई समाजवादी पार्टीले कथित छानविन प्रतिवेदनको आधारमा कारवाही गरी निस्काशन र सांसदबाट निलम्बन हुने विषय खेदनजनक छ । सँसदमा आफनो धारणा स्वतन्त्र ढंगले राखेकै आधारमा कारवाही गर्ने कुरा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मान्यता विपरित रहेकोले निर्णय र्फितालिन अनुरोध गर्दछु ।’