जनता टाइम्स

२४ असार २०७७, बुधबार १७:१५

ट्याक्सी संचालनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई संसदीय समितिको निर्देशन


काठमाडौं, असार २४

संघीय संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी संचालन गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। बुधबार बसेको समितिको बैठकले ट्याक्सी संचालनका लागि आवश्यक व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिले सार्वजनिक यातयात सम्वद्ध सरोकारवाला मजदुर संगठन र व्यवसायी महासंघका पदाधिकारीहरुसंग छलफल गरेको थियो । छलफल पश्चात समितिले विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समिति (सिएमसी) ले तयार पारेका मापदण्डहरु पूरा गरी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

कोरोना संक्रमण नियन्त्रण गर्नका लागि सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन आदेशका कारण ३ महिनाभन्दा बढी समयदेखि ट्याक्सी सञ्चालन हुन सकेका छैनन्। लकडाउन केही खुकुलो भएको अवस्थामा स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरी सार्वजनिक सवारीका साधन सञ्चालन गर्न दिनुपर्ने माग व्यवसायीहरूले गर्दै आएका छन् ।

देशभर करिव २० हजार ट्याक्सी रहेका छन्। उपत्यकामा मात्रै ११ हजार ट्याक्सी रहेको बताइएको छ। ती २० हजार  चालकमा आश्रित परिवार गरी ८० हजार समस्यामा परेका छन् । अरु सार्वजनिक सवारी साधनको तुलनामा ट्याक्सी सुरक्षित हुने भन्दै संचालनका लागि माग गरिएको व्यवसायीहरुको भनाई छ।